८ मंसिर २०८१, शनिबार

अमेरिकाको कोलोराडोमा शुरु भयो नेपाली भाषा पाठशाला (फोटो फिचरसहित)

कोलोराडोखबर संवाददाता , June 2nd, 2024

कोलोराडो । अमेरिकाको कोलोराडो निवासी नेपालीमूलका बालबालिकाहरुलाई नेपाली भाषा पढ्न, लेख्न, सुन्न र बोल्ने सिकाउने उद्देश्यसहित यसवर्ष पनि जून १ तारिखबाट नेपाली भाषा पाठशालाको कक्षा सञ्चालन शुरु भएको छ ।

हरेक शनिबार दिउँसो २ बजेदेखि ४ बजेसम्म कोलोराडाको वेष्टमिनस्टर स्थित नेपाली घर र अरोराको स्मोकी हिल चर्चमा नेपाली भाषा पाठशाला सञ्चालन हुने अनेसास कोलोराडो शाखाका अध्यक्ष राजु सिटौलाले बताउनु भयो ।

यसपटक वेष्टमिनस्टर स्कूलमा ५८ जना र अरोरा स्कूलमा ३५ जना नेपाली बालबालिका भर्ना भएका छन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाको नेतृत्वमा दिदीबहिनी समूह (सिस्टर्स ग्रुप), एनआरएनए कोलोराडो, नेपाली घर र रक्की माउन्टेन फ्रेण्ड्स अफ नेपाली संस्थाको सहयोग र समन्वयमा नेपाली भाषा पाठशाला सञ्चालन भएको हो । यो गर्मीको बिदामा आफ्ना बालबालिकालाई नेपाल भाषा पाठशालामा पढाउने गरिएको छ ।

दुई स्थानमा एक समारोहका बीच कक्षा सञ्चालन शुरु गरिएको छ । कोलोराडाको वेष्टमिनस्टर स्थित नेपाली घरमा नेपाली र अंग्रेजी राष्ट्रिय गानसहित नेपाली भाषा पाठशाला शुरु गरिएको अनेसास कोलोराडो शाखाका सचिव लालप्रसाद चौलागाईँले बताउनु भयो ।

कार्यक्रममा अनेसासका कोषाध्यक्ष सेनुप्रसाद तिवारी, अभिभावक प्रेम श्रेष्ठ, शिक्षकहरु हरिभक्त शर्मा र धन पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । त्यसैगरी शिक्षकहरु हरिभक्त आचार्य, प्रतिभा शर्मा, धन पौडेल, सीता सापकोटा र रञ्जु आचार्यलाई अनेसास कोलोराडो शाखा अध्यक्ष राजु सिटौलाले पेन र डायरी उपहार प्रदान गर्नुका साथै सचिव लालप्रसाद चौलागाईँले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

कार्यक्रममा कक्षा सञ्चालनका स्वयम्सेवकहरुको परिचय गराउनुका साथै विधार्थीहरु रचित रेग्मी र अग्रिम पौडेलले नेपाली कविता बाचन गरेका थिए भने प्रियंका श्रेष्ठले नृत्य प्रस्तुत गरेकी थिइन् । नेपाली भाषा कक्षा सञ्चालन गर्नुअघि विधार्थीहरुको योग्यता जाँच गरिएको थियो ।

उता अरोरामा पनि एक समारोहका बीच नेपाली भाषा पाठशाला शुरु गरिएको छ । अरोरा स्कूलको संयोजन राजु खनालले गर्नु भएको छ भने कार्यक्रम सञ्चालन अनेसासका महासचिव किरण अधिकारीले गर्नु भएको थियो ।

कोलोराडोमा बालबालिकालाई भाषा सिकाउँदै ‘नेपाली भाषा पाठशाला’

प्रतिक्रिया दिनुहोस्