१० मंसिर २०८१, सोमबार

बागमती प्रदेशको आगामी आवको नीति तथा कार्यक्रम पारित

कोलोराडोखबर संवाददाता , June 1st, 2024

नेपाल (हेटौंडा) । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रममाथिको छलफल सकिएको छ ।

सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि भएको छलफलमा सत्ता पक्षका प्रदेश सभा सदस्यले नीति तथा कार्यक्रमको समर्थन र विपक्षी दलका प्रदेश सभा सदस्यले नीति तथा कार्यक्रमले नागरिकको समस्या सम्बोधन गर्न नसेको बताएका थिए ।

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले स्वीकृत भएको छ । शुक्रबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो ।

मुख्यमन्त्री जम्कट्टेलले संसदमा पारित गरियोस् भन्ने प्रस्तावलाई प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले निर्णयार्थ पेस गरेका थिए । सभामुख पाठकले निर्णायार्थ पेस गरेको उक्त प्रस्ताव प्रदेश सभाका बहुमत सांसदहरूले स्वीकृत गरेका हुन् ।

गत जेठ १४ गते संसदमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको थिए । उक्त नीति तथा कार्यक्रममाथि जेठ १६ गतेदेखि छलफल प्रारम्भ भएको थियो । बैठकमा सत्ता र प्रतिपक्षका ७० जना सांसदले धारणा राखेका थिए । सांसदले उठाएका प्रश्नहरूका विषयमा मुख्यमन्त्री जम्कट्टेलले जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्