– राम उदित–
हिँड्दाहिँड्दै बिझाउन थालेको छन्
यी गोरेटाहरू
कताकता उछिट्टिन थालेका छन् पैतालाहरू
कताकता छरपस्टिन खोजेका छन्
अस्मेल भावका तरङ्गहरू
छताछुल्ल मनलाग्दी बगिरहेछन् रङ्गहरू
क्यानभासको पृष्ठभूमिभरि
आफैँलाई तर्साउन खोजिरहेछ
यो बन्दै गरेको चित्र १
रेटिएर सारङ्गीको मुटु
खण्डित छ सारेगमको राग
बादलमा बन्दै भत्कदैँ गरेको छ
सपनाहरूको क्यानभास
आँखाहरूको ऐनामा
धुमिल धुमिल देखिदैँछ
जीवनास्तित्वको छाँया ।
***
यसरी टुटेर लयहरू
म बहुलाएको बतास भएको छ
भत्केपछि धैर्यताका बाँधहरू
म वनको डढेलो भएको छु
भास्सिँदै गएपछि टेकेर
म उभिएको विश्वासको धरातल
म उदाङ्ग पहिरो
गएको पहाड भएको छु
मायाले
हुर्काएका विरुवामा अनायासै
पलाउन थालेपछि ऐँजेरु
यतिन्जेल
विश्वास गरेका अनुहारहरू
एकाएक बद्लिन थालेपछि
जुडासहरूमा
म आगो भएको छु ।
***
नदी
विश्वासको सङ्लो नदी
घमिलो बगेको छ यतिखेर
बगाउँदै मेरो आस्थाको माटो
बञ्जर बनाएको छ मेरो छाति
लुछेर भिरपहराको हरित केशराशी
सुख्खा पर्वत बनाएको छ
सिङ्गो मनलाई
विकृत तुल्याएर मेरो प्राकृत लय
बाढी मेरो सपनाको बस्तीमा पसेको छ
पहिरो मेरो शीरमाथि खसेको छ
चट्याङ मेरो आँगनमा बजेको छ ।
***
र पनि
यी सब असहजताहरू बीच पनि
उठ्न खोजिरहेछु म
एउटा हिमाल स्वभिमानको
बग्न खोजिरहेछु एउटा नदी
गतिशीलताको
बाँच्न खोजिरहेछु एक विश्वास भविष्यको
एक दृष्टि ब्युँझन खोजिरहेछु आस्थाको
कहाँ लयहीन बजिरहन सक्छन् र ?
आस्थाका घण्टीहरू
कहाँ जमिरहन सक्छन् र ?
स्वर्णिम युवा पलहरू
ढुङ्गा जस्तो
ब्युँझेर युगीन संवेदनाका गीतहरू तिम्रै
हत्केलाद्वारा लेखिन चाहन्छु म
निसृत तरङ्गका अभिलेखहरू
पर्खिरहेछु तिम्रै
न्यायो हत्केलाको स्पर्शलाई… ।
***
–चन्द्रपुर, रौतहट ।
प्रतिक्रिया दिनुहोस्