३ माघ २०८१, बिहीबार

नेपाली क्रिकेट टिमद्वारा दुबै अभ्यास खेलमा अमेरिकाको ह्युस्टन हरिकेन्स पराजीत

कोलोराडोखबर संवाददाता , May 26th, 2024

टेक्सस (अमेरिका) । टी–२० विश्वकप खेल्न अमेरिकामा रहेको नेपाली क्रिकेट टिमले ह्युस्टन हरिकेन्सलाई दोस्रो अभ्यास खेलमा पनि पराजीत गरेको छ । शनिबार आयोजित दोस्रो खेल जितेसँगै नेपालले दुई खेलको सिरिज क्लिन स्वीप गरेको छ ।

ह्यूस्टन हुरीकेन्स अमेरिकाको माइनर लिग फ्रान्चाइज टिम हो ।

१२४ रनको लक्ष्य पछ्याएको ह्युस्टन १८ दशमलव ३ ओभरमा ९६ रनमा अल आउट भयो । जिआ शाहजादले २९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३५ रन बनाए। इमरान खान जुनियर र लाहिरु मिलान्था १६–१६ रनमा आउट भए ।

नेपालका करण केसीले ३ ओभरमा १० रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । रोहित पौडेल, अभिनाश बोहरा र सागर ढकालले एकरएक विकेट लिए ।

त्यसअघि प्रेरी भ्यू कम्प्लेक्स ह्युस्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १२३ रन बनाउन सकेको थियो । कप्तान रोहित पौडेलले ४० बलमा १ चौकासहित सर्वाधिक ३७ रन बनाएका थिए । ओपनर कुशल भुर्तेल ३१ बलमा २ चौकासहित २३ रन जोडे । गुलशन झा १४ रनमा आउट भए । सन्दीप जोरा र सोमपाल कामीले १२–१२ रन बनाए ।

ह्युस्टनका इमरान शेख जुनियरले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । जिआ शाहजादले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए ।

शुक्रबार सम्पन्न पहिलो खेलमा नेपाल ६ रनले विजयी भएको थियो । नेपालले २७ मे मा क्यानडा र ३० मे मा अमेरिकासँग आईसीसी टी–२० विश्वकप वार्मअप खेल खेल्नेछ ।

टी २० विश्वकप खेल्न अहिले अमेरिकामा रहेको नेपाली टिमको तयारीका लागि सहयोग गर्न २ खेलको सिरिज आयोजना गरिएको हो । प्रतियोगिताको मुख्य प्रायोजन एनआरएनए एनसीसी अमेरिकाले गरेको छ ।

विश्वकप १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिजमा हुनेछ । टी–२० विश्वकपमा जेठ २२ गते नेदरल्याण्डससँग पहिलो खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्