१० मंसिर २०८१, सोमबार

बालकविताः मुसो जत्रै मुसो

कोलोराडोखबर संवाददाता , May 25th, 2024

–रमेशचन्द्र घिमिरे–

जङ्गलबाट आत्तिँदै छोरो घर आयो
बाबासँग उसले एउटा ठुलै गफ लायो ।
***
‘आज मैले देखेँ बाबा बाघ जत्रो मुसो’
बाले भने, ‘फेरि भन देख्यौ कत्रो मुसो ?’
यसो भन्दा बाको थियो डाँको अलि चर्को
डराएर त्यो छोराले दियो उत्तर अर्को ।
***
‘बाघ जत्रो थिएन बा कुकुर जत्रो थियो’
बाले चर्को स्वरमा भने, ‘मुसो कत्रो थियो ?’
बाले यसो भनेपछि छोरो अलि थर्क्यो
आत्तिएर त्यो छोराले दियो उत्तर अर्को ।
***
‘कुकुर हैन बिरालाको आकार हुन्छ जत्रो
मैले देख्या मुसो चाहिँ थियो बाबा त्यत्रो’
पालै–पालो बाको प्रश्न आयो लर्कै–लर्को
पल्टैपिच्छे भन्यो उसले उत्तर अर्को–अर्को ।
***
त्यो छोराले अब भने सही उत्तर दियो
‘मुसो जत्रै थियो तर अल्लि ठुलो थियो’
चित्त बुझ्दो उत्तर पाए अनि काखमा लिए
‘स्याबास्’ भन्दै बाले उसलाई चकलेट खान दिए ।
***
–भोर्लेटार, लमजुङ ।
२०८१–०२–०९

प्रतिक्रिया दिनुहोस्