१२ आश्विन २०८१, शनिबार

अमेरिकाको बोस्टनमा २५६८औं बुद्ध जयन्ती भव्यताका साथ मनाइँदै

कोलोराडोखबर संवाददाता , May 24th, 2024

अमेरिका (बोस्टन) । विश्वमा शान्तिको महत्व दिनानुदिन बढ्दै गइरहेको छ। नेपालको लुम्बिनीमा जन्मिएका महात्मा बुद्धलाई विश्वकै शान्तिका अग्रदूत मानिन्छ । जसले जगतलाई शान्ति प्राप्त गर्ने अमूल्य ज्ञान र दर्शन दिएर गए । उनै महात्माको स्मरण विशेष गरी बैशाख शुक्ल पूर्णिमाका दिन वा त्यस दिन अघि पछि गर्ने गरिन्छ । हरेक वर्ष बैशाष शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती पर्दछ । यस वर्ष २०८१ साल जेठ १० गते अर्थात सन् २०२४, मे २३ तारिख बिहिबार बुद्ध जयन्ती परेको छ । यसै अवसरमा विविध कार्यक्रमहरु गरेर बुद्ध जयन्ती विश्वभर मनाइदै छ ।

यसै अवसरमा, अमेरिकाको बोस्टनमा २५६८औं बुद्ध जयन्ती भव्यताका साथ मनाउने तयारी गरिएको छ। हरेक वर्ष झै यस वर्ष पनि बुद्ध जयन्ती भव्यताका साथ मनाउने तयारी गरिएको हो । पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्ल्याण्ड (प्याब्फोन) र ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जिबिएनसि) संयुक्त आयोजना रहेको उक्त कार्यक्रम, एनआरएनए म्यासाच्युसेट्स च्याप्टर, नेवा अर्गनाइजेशन अफ न्यू इंग्ल्याण्ड, गुरुङ समाज अफ बोस्टनलगायत स्थानीय नेपाली संघ संस्थाहरुको साथ सहयोगमा 594 Washington Street, Braintree स्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरमा संयुक्त रुपमा मनाउन लागिएको हो ।

प्याब्फोनका अध्यक्ष बिरोचन नेपालले जानकारी दिए अनुसार बुद्ध जयन्ती मे २३, २४, २५ र २६ तारिख ४ दिन सम्म मनाइने भएको छ । गत वर्षदेखि मन्दिर सञ्चालन भएसंगै बुद्ध जयन्तीलाई विशेष रुपमा मनाउन थालिएको हो। प्याब्फोनका अध्यक्ष नेपालले बुद्ध जयन्तीलाई विशेष रुपमा मनाउन ४ दिने विशेष कार्यक्रम तालिका नै बनाइएको छ । जस अनुसार शरणागमन, शील प्रदान, सामूहिक रत्न मण्डल अर्पण, पञ्चोपचार पूजा, जप, ध्यान, बुद्ध ज्ञान तथा प्रवचन, पूजा, पूण्यानुमोदन, दान, गुरुमण्डल पूजा, माटो शोधन, सामूहिक चैत्य पूजा जस्ता धार्मिक क्रियाकलापहरु गरिने भएको छ ।

बौद्ध धर्मको धार्मिक विधि अनुसार बुद्ध जयन्तीलाई विशेष रुपमा मनाउन गुरुजु समन्त श्रीरत्न बज्राचार्य, कल्याण मित्र धिर गुरुङ, गुरु सोनाम लाम, भन्ते, लामा गुरुहरुलगायतले विशेष भूमिका निभाउने भएका छन् । उक्त बुद्घ जयन्ती भव्यताका साथ मनाउन तय गरिएका ४ दिने कार्यक्रमहरुमा सहभागी भइदिनहुन विशेष अनुरोध गर्दै अध्यक्ष नेपालले सम्पूर्ण न्यू इंग्ल्याण्डवासी नेपालीहरुलाई सहभागिताका लागि चुले निम्तो दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्