१० मंसिर २०८१, सोमबार

अनेसासको केन्द्रीय महासचिवमा राजु सिटौलाद्वारा उम्मेदवारी घोषणा (प्रतिबद्धतासहित)

कोलोराडोखबर संवाददाता , May 24th, 2024

अमेरिका (कोलोराडो) । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को सन् २०२४-२०२६ का लागि राजु सिटौलाले केन्द्रीय महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सन् २००९ मा अनेसासको आजीवन सदस्यका रुपमा आवद्ध उनी कोलोराडो शाखाको महासचिव, उपाध्यक्ष हुँदै हाल च्याप्टर अध्यक्षका रुपमा कार्यरत छन् । सिटौलाले अनेसास कोलोराडो शाखाको दुई कार्यकाल अध्यक्षका रुपमा सफल नेतृत्व गर्दै नेपाली भाषा साहित्यको सेवा गरिरहेका छन् ।

सन् २०१६ मा अनेसासको केन्द्रीय कार्यसमितिमा रहेर कार्य गरेका उनले शाखा र केन्द्रमा कार्य गर्दाको अनुभवका आधारमा अनेसासलाई सांगठनिक रुपमा बलियो बनाउन तथा केन्द्रसँग यसका सदस्यहरुको सम्बन्ध मजबुत पार्ने आफ्नो कार्ययोजनासहित उम्मेदवारी घोषणा गरेको बताए ।

विश्वभरी छरिएर रहेका सदस्यहरुको विवरणलाई सम्बन्धित च्याप्टरहरुको सहयोगबाट निरन्तर रुपमा अद्यावधिक गरी हरेक सदस्यले अनेसासको वेबसाइट मार्फत आफ्नो प्रोफाइल हेर्न मिल्ने व्यवस्था बनाउने, सफ्टवेयर प्रयोग गरी अनेसासका महत्वपूर्ण सूचना तथा गतिविधि सम्बन्धी जानकारी ईमेल मार्फत सम्पूर्ण सदस्यलाई नियमित रुपमा उपलब्ध गराउने, अनेसासद्वारा आयोजना गरिने कार्यक्रमहरुको वार्षिक क्यालेन्डर तयार पारी समयमै कार्यक्रम सम्बन्धी जानकारी उपलब्ध गराउने र अनेसासका सम्पूर्ण च्याप्टरहरुलाई केन्द्रको वेबसाइटमा स्थान उपलब्ध गराई आफ्ना गतिविधिहरुलाई त्यसमा प्रकाशन गर्ने महासचिव पदका उम्मेदवार सिटौलाको प्रतिबद्धता छ ।

सन् १९९१ मा अनेसासको विधिवत रुपमा स्थापना भएको हो । विभिन्न ५ महादेशमा फैलिएको अनेसासका २४ सय जति आजीवन सदस्य छन् ।

अनेसासको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हालै साहित्यकार गुणराज लुईंटेल संयोजक र डा. चुडामणि खनाल तथा डा. कविता घिमिरे सदस्य रहेको निर्वाचन समिति बनाइएको छ ।

आगामी भानु जयन्तीको सन्दर्भ पारेर नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गर्ने कार्ययोजनासहित निर्वाचन गरिने अध्यक्ष गोवद्र्धन पूजाले उल्लेख गरेका छन् ।

निर्वाचनबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रत्येक महादेशबाट १–१ जना उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र ५ जना सदस्य निर्वाचित हुने छन् । दुई जना सदस्य केन्द्रीय समितिले मनोनयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्