अमेरिका (बोस्टन) । यतिबेला गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद, अमेरिकाको म्यासाच्युसेट्स च्याप्टर ‘समरभिल नेपाली सांस्कृतिक महोत्सव–२०२४’ को तयारीमा जुटेको छ ।
एनआरएनए, म्यासाच्युसेट्स च्याप्टर र समरभिल सिटी अन्तर्गतको समरभिल कला परिषद एवम् समरभिभाः आप्रवासी मामिलाको कार्यालयको संयुक्त आयोजनामा आउदो जुन १ तारिख शनिवारका दिन अपरान्ह साँढे ३ बजेदेखि साँझ साँढे ८ बजेसम्म यूनियन स्क्वायर समरभिलमा हुन गइरहेको उक्त महोत्सवको तयारी तीब्र रुपमा भइरहेको हो ।
नेपाली भाषीहरुलाई संगठित गर्ने, नेपाली कला, भाषा, धर्म, संस्कृति, रितिरिवाज, परम्परा, पहिरनआदिको संरक्षण, सम्बर्धन तथा प्रवर्धन गर्ने र समग्र नेपाल र नेपालीलाई विश्व सामु चिरपरिचित गराउन सक्दो योगदान पुर्याउने महोत्सवको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।
एनआरएनए, म्यासाच्युसेट्स च्याप्टरका उपाध्यक्ष एवम् समरभिल नेपाली सांस्कृतिक महोत्सव २०२४ का संयोजक राजु गुरुङले जनाए अनुसार कार्यक्रमलाई भव्यताका साथ सफल बनाउन तयारीलाई तिब्रता दिइएको छ । उनका अनुसार कार्यक्रमको मिति नजिकिदै गर्दा तयारीलाई तिब्रता दिन एनआरएनए, राष्ट्रिय समन्वय परिषद, अमेरिकाका उपाध्यक्ष प्रेम तामाङको विशेष उपस्थितिमा गत आइतबार च्याप्टर अध्यक्ष प्रचण्ड श्रेष्ठको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा हालसम्म भएका तयारीका कामहरु र गर्नु पर्ने थप तयारीका सम्बन्धमा छलफल गर्नुकासाथै कार्य विभाजनसमेत गरिएको कार्यक्रम संयोजक गुरुङले जानकारी दिए ।
उनका अनुसार उक्त महोत्सवमा नेपाली गीत संगीत, भाषा, भेष भूषा, रितिरिवाज, परम्परा, चालचलन आदि झल्किने गरी मनोरन्जनात्मक विविध सांस्कृतिक कार्यक्रम गर्ने तयारी गरिएको छ । आयोजकले उक्त सांस्कृतिक कार्यक्रममा नेपालमा रहेका विभिन्न जातजातिहरुको पहिचान झल्काउदै नेपाली समाजको सुन्दर विशेषता ‘विविधताकाबीच एकता’लाई विश्व सामु सक्दो उजागर गर्ने तयारी छ ।
उक्त सांस्कृतिक कार्यक्रममा आर्य, नेवारी, गुरुङ, तामाङ, राईलगायत अन्य जातजातिहरुले आआफ्नो जातीय पहिचान झल्काउने गरी सांगीतिक प्रस्तुति पनि पस्कने तयारी भइरहेको बुझिएको छ । संयोजक गुरुङले जानकारी दिए अनुसार उक्त महोत्सवमा नेपालीपन र पहिचान झल्काउने स्वादिष्ट नेपाली परिकारहरु र सरसामानहरुको स्टलहरु पनि राखिने भएको छ । उक्त कार्यक्रमलाई भव्यताका साथ सफल बनाउन सबैको साथ सहयोग र सहभागिताको खाँचो औल्याउदै कर्यक्रम संयोजक गुरुङले सम्पूर्ण न्यू इंग्ल्याण्डवासी नेपाली समुदायलाई कार्यक्रममा सहभागी हुन अनुरोधसमेत गरेका छन् ।
म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष प्रचण्ड श्रेष्ठले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । उक्त कार्यक्रम प्रवासी नेपालीहरुका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउदै अध्यक्ष श्रेष्ठले मनोरञ्जनात्मक एवम् गौरवपूर्ण उक्त कार्यक्रममा सहभागी भइदिन सबै नेपाली समुदायलाई अनुरोध गरेका छन् । कार्यक्रममा सहभागी हुन चुले निम्तो दिदै उनले भने, ‘यो नेपाल र नेपालीलाई विश्व सामु चिनाउने र नेपाली समाजको महत्वपूर्ण पहिचान र विशेषता विविधतामा एकतालाई पुष्टि गर्ने अवसर हो । त्यसैले कार्यक्रमलाई सफल बनाउन सबै नेपाली समुदाय एकजुट हौं ।’
अमेरिकाको यस न्यू इंग्ल्याण्ड क्षेत्रमा करिब २० देखि २५ हजारको हाराहारीमा नेपाली भाषीहरुको बसोबास रहेको अनुमान गरिएको छ । लामो समयदेखि नेपाली भाषीहरुका विभिन्न संघ संस्थाहरुले यस क्षेत्रमा रहेका नेपाली भाषीहरुको पहिचान तथा उत्थानका लागि संगठित भएर विविध सामाजिक क्रियाकलापहरु गर्दै आइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्