अमेरिका (न्यूयोर्क) । नेपाली खानालाई अन्तराष्ट्रियस्तरमा प्रबर्धन गर्ने उद्देश्यले अमेरिकाको अलास्कामा पहिलो पटक ‘सात महादेशिय पर्वतीय खाना महोत्सव २०२४’ हुने भएको छ ।
अन्तराष्ट्रिय सगरमाथा दिवश मे २९ तारिखको अबसरमा अलास्काको एन्करेजमा रहेको मण्डला रेष्टुरेण्टमा सो कार्यक्रम हुन लागेको हो । विहान साढे ११ बजेदेखि दिउँसो २ बजेसम्म सो खाना महोत्सव हुनेछ ।
‘सातै महादेशमा नेपाली खाना, हामी सबैको चाहना’ भन्ने अभियानका साथ ग्यास्ट्रोनोमि टुरिजम एसोसियसन अफ नेपाल र यात्रा ग्रुप न्यूयोर्कको संयुक्त आयोजनामा सो महोत्सव हुन लागेको हो । पर्वतीय क्षेत्रका परिकार ढिडो, गुन्द्रुक, मःम , शेर्पा समुदायमा प्रख्यात थेन्दूक रिल्दोक, नून चिया, नेपाली थालीलगायतका खाना सो महोत्सवमा प्रदर्शन गरिने छ ।
अमेरिकाका भर्जिनिया राज्यका कहलिएका रेण्टुरेण्ट व्यबसाय एवं क्लुनरी आर्टिस्ट राम थापा र प्रख्यात फूड गुरु सुरेशचन्द्र बस्नेतले बनाएका परिकार डेनाली हिमाल आरोहणमा जाने आरोहीसंगै स्थानीय आन्तरिक र बाह्य पर्यटकले खान पाउनेछन् ।
डेनाली हिमाल चढ्न जानेहरुको लागि नाम्चे बजारजस्तै मानिने एन्करेजमा पहिलो पटक यस्ता नेपाली परिकारको स्वाद पर्यटकले पाउन लागेको कार्यक्रम संयोजक सुरेश बस्नतेले बताए ।
बस्नेतका अनुसार अमेरिकाको सबैभन्दा अग्लो हिमाल डेनाली रहेको अलास्का क्षेत्रबाट यो अभियान शुरु गरिएको हो । त्यसपछि, एशियामा रहेको बिश्वको सबैभन्दा अग्लो सगरमाथासंगै सात महादेशको उच्च शिखरमा यो अभियानलाई पुर्याउने अठोटका साथ आफूहरु अगाडि बढेको उनले जानकारी दिए ।
कार्यक्रमबाट संकलन भएको ‘सहयोगको रकम’ नेपालमा रहेका सेफहरुको हक, हित र नेपाली खानालाई अन्तर्राष्ट्रियस्तरमा प्रबद्धन गर्नमा खर्च गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्