अमेरिका (बोस्टन) । यतिबेला नेपाल अमेरिका पत्रकार संघ(नेजा) आफ्नो १७औं साधारण सभाको तयारीमा जुटेको छ ।
बोस्टनमा हुन गइरेको साधारण सभाको मिति नजिकिदै गर्दा नेजा आवश्यक तयारीमा जुटेको हो । यही आउँदो मे २५ र २६, २०२४ (शनिबार र आइतबार) हुने उक्त साधारण सभालाई सफल बनाउन तयारीले तिब्र गति लिइरहेको छ ।
साधारण सभा मूल आयोजक समिति, कार्यसमिति, विभिन्न समितिहरु र सदस्यहरु बोस्टनमा हुने १७औं साधारण सभालाई ऐतिहासिक, उपलब्धिमूलक र मार्ग निर्देशक बनाउन अहोरात्र खटिरहेका छन् ।
तयारीका सम्बन्धमा, नेजाका उत्तर-पूर्व क्षेत्रीय संयोजक एवम् १७औं साधारण सभा मूल आयोजक समितिका संयोजक सुपेन्द्र बस्नेतले जानकारी दिए अनुसार उक्त साधाण सभा 594 Washington Street, Braintree, MA- 02184 स्थित प्रवासी नेपालीहरुको संस्था ‘पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङल्याण्ड(प्याब्फोन-PABFONE)को सामुदायिक भवनमा गर्ने निधो गरिएको छ ।
यसैगरी, साधारण सभामा सहभागी हुने नेजा सदस्यहरुलाई कार्यक्रम स्थलबाट झण्डै पाँच माइल दुरी रहेको 1374 N Main Street, Randolph, MA-02368मा अवस्थित होटल कम्फोर्ट इन ड्यानरफ (Comfort Inn Randolph)मा बास बस्ने व्यवस्था गरिएको छ भने, विहानको नास्ता बासस्थानमा र दिउसो र साँझको खाना कार्यक्रम स्थलमै व्यवस्था गरिने भएको छ ।
कार्यक्रम स्थल र बासस्थानमा आवतजावतको व्यवस्था भने स्थानीय संघ संस्थाका प्रतिनिधि एवम् सहयोगीहरुको सहयोगमा गरिने तयारी रहेको छ । कार्यक्रमको तयारीका सम्बन्धमा जानकारी दिदै १७औं साधारण सभा मूल आयोजक समितिका संयोजक बस्नेतले भने, ‘साधारणसभाको मिति नजिकिदै गर्दा तयारीले पनि तिब्रता पाइरहेको छ । बासस्थान र कार्यक्रम स्थल तय भैसकेको छ । प्रमुख अतिथि, अतिथिहरू, संस्थाका सदस्य ज्यूहरुलगायत सरोकारवाहरुलाई आधिकारिक निमन्त्रणा गर्ने कार्य भैरहेको छ । व्यानरहरु र फ्लायरहरु बनाउने र सदस्यज्यूहरुलाई चरणबद्ध आवश्यक अद्यावधिक सूचनाहरु प्रवाह गर्ने कार्य भैरहेको छ।’
संस्थाले नेपाली समुदाय र उनीहरुको संघ संस्थाहरुलाई प्राथमिकता दिने र हातेमालो गर्दै अघि बढ्ने नीति अनुरुप नै साधारण सभा हुने थलो नेपाली समुदायकै भवन रोजिएको बताउँदै उनले भने, ‘केही कठिनाइ बेहोर्नु परेतापनि हामीले नेपाली समुदायलाई नै प्राथमिकता दिएर नेपाली समुदायकै भवनमा साधारण सभा गर्ने निर्णय गरेका हौं । यसले ठूलो अर्थ राख्छ । र, महत्वपूर्ण सन्देश दिन्छ भन्नेमा नेजा विश्वस्त छ।’
तयारीका बारेमा थप जानकारी दिदै साधारण सभा मूल आयोजक समितिका संयोजक बस्नेतले भने, ‘अन्य आवश्यक तयारी अन्तर्गत संस्थाको प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, विभिन्न उपसमितिहरुको कार्यसम्पादन प्रतिवेदन, विधान संशोधनका लागि प्रस्तावलगायत कामहरुले पनि निकै गति लिइरहेको छ।’ संयोजक बस्नेतले नेजा सदस्यहरुलाई बोस्टनमा स्वागत गर्न आफू, स्थानीय समूदाय र नेजा परिवार आतुर रहेको जनाउँदै सदस्यहरुलाई सपरिवार बोस्टन आउन चुले निम्तोसमेत दिएका छन् ।
यसैबीच, नेजाले वार्षिक साधारण सभाका बखत संस्थाको स्मारिका ‘प्रयास’ प्रकाशन गर्ने गरी आवश्यक तयारीलाई तिब्रता दिइएको छ । संयोजक बस्नेतका अनुसार यसपटको ‘प्रयास’ मा विगतकै ढाँचालाई निरन्तरता दिदै ‘विद्यमान नेपाली पत्रकारिता एवम् भाषाको महत्व’ विषयलाई प्राथमिकताका साथ समावेश गरिने भएको छ । यसको जिम्मेवारी वरिष्ठ पत्रकार एवं भाषाविज्ञ शरच्चन्द्र वस्तीलाई सुम्पिए अनुसार सामग्री तयार भैसकेको र सम्पादनको प्रक्रियामा रहेको छ । उक्त स्मारिकामा संस्थागत संक्षिप्त परिचयसहित संस्थाको गतिविधिहरु समावेश गरिनुका साथै शुभकामना दिन चाहनेहरुको शुभकामनालाई पनि समेटिने भएको छ । त्यसका लागि शुभकामना दिन चाहनेहरुबाट शुभकामना सन्देश सङ्कलन गर्ने कार्य तीब्र गतिमा भैरहेको बुझिएको छ ।
नेपाल अमेरिका पत्रकार संघ(नेजा) उत्तर अमेरिकामा रहेका नेपाली मूलका पत्रकारहरुको साझा संस्था हो । यसको बिजारोपण सन् २००१ बाटै भएर सन् २००७ मा विधिवत् स्थापना भइ यो निरन्तर क्रियाशील हुदै आइरहेको छ । संस्थाको विधान अनुसार नेजाले हरेक वर्ष साधारण सभा र प्रत्यक दुई वर्षमा अधिवेशन गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्