अमेरिका । अमेरिकाको मिनिसोटाबाट लोकप्रिय सांगीतिक ब्यान्ड ‘१९७४ एडी’ ले यसवर्षको पहिलो अन्तर्राष्ट्रिय कन्सर्ट सुरु गर्ने भएको छ । यसैक्रममा मे ११ तारिखमा मिनिसोटाबाट कन्सर्ट यात्रा सुरु हुने ब्यान्डले जनाएको हो ।
स्थापनाको ३० वर्षमा पुगेको अवसरमा यो ब्यान्ड अमेरिकाको पाँच सहरमा गुञ्जन लागेको हो । मिनिसोटासहित मे १८ मा सनफान्सिस्को, मे २५ मा डल्लास, जुन १ मा भर्जिनियाँ र जुन ८ मा सियाटल सहरमा कन्सर्ट हुने जनाइएको छ ।
कन्सर्टका लागि सदस्यद्वय निराकार याक्थुङ्बा, मनोजकुमार केसी र संजय श्रेष्ठ अमेरिका पुगिसकेका छन् । बाँकी तीन सदस्य फिरोज स्याङ्देन, एड्रियन प्रधान र मनोज सिंह अमेरिकामै बसोबास गरिरहेका छन् ।
सन् १९९४ मा स्कुल पढाइरहेका शिक्षक मिलेर स्थापना भएको यो ब्याण्डले सन् २०२४ लाई विशेष वर्षको रूपमा मनाउन धेरैभन्दा धेरै फ्यानहरूसम्म पुग्ने अभियानस्वरुप कन्सर्टको आयोजना गर्ने जनाएको छ ।
अमेरिकापछि जापान, अस्ट्रेलियालगायत देशमा पनि कन्सर्ट गर्ने तयारी भइरहेको जनाएको छ ।
ब्यान्डले ‘टाइम आउट’, ‘सम्झी बस्छु’, ‘शताब्दी’, ‘जंगी निशान’ र ‘पिँजडाको सुगा’ जस्ता लोकप्रिय एल्बम सार्वजनिक गरिसकेको छ ।
१९७४ एडीका ‘परेलीमा लुकाइ राख न..’ ‘धेरै धेरै आउँछ मनमा..’, ‘चौबन्दी चोली..’ र फूलबुट्टे साडीमा…’, ‘गुराँसै फूल्यो बनैमा..’, ‘संवोधन तिमीलाई गर्दैछु..’ जस्ता दर्जनौं गीत चर्चित लोकप्रिय छन् ।
प्रतिक्रिया दिनुहोस्