८ मंसिर २०८१, शनिबार

एनआरएनए कोलोराडोको आयोजनामा एनआरएन नागरिकता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोलोराडोखबर संवाददाता , May 1st, 2024

नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपालको संघीय संसद प्रतिनिधि सभाकी उपसभामुख ईन्दिरा राना मगरले गैर आवासीय नेपालीहरुलाई एनआरएन नागरिकता लिन तथा पैतृक सम्पत्ती सुरक्षा गर्न के कस्तो समस्या परेको छ लिखित रुपमा सुझाव दिन आग्रह गरेकी छिन् ।

एनआरएनए कोलोराडो च्याप्टरको आयोजनामा सोमबार सांझ सम्पन्न अन्तरक्रिया कार्यक्रमकी प्रमुख अतिथि उपसभामुख रानाले गैर आवासीय नेपालीहरु सबैलाई उक्त आग्रह गरेकी हुन् । अहिले एकीकृत कानून लेखन भईरहेको हुनाले बास्तबिक समस्याहरु के के हुन लिखित रुपमा उपलब्ध भए नेपाल फर्केर त्यसको समाधानको लागी पहल गर्ने रानाले प्रतिबद्धता जनाएकी छिन् ।

कार्यक्रममा बिशेष अतिथिको रुपमा नेपाल सरकार खेलकुद मन्त्रालयका बरिष्ठ सल्लाहकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी एनआरएन विभागका उपाध्यक्ष डा. प्रणय राणाको पनि उपस्थिती रहेको थियो । नेपाली नागरिकता गुमाएका गैर आवासीय नेपालीहरुलाई एनआरएन नागरिकता प्राप्तीलाई सहज बनाउन, पैतृक सम्पत्तीको कारोबारमा सहजकता ल्याउन तथा भिषा आवस्यकताको स्पष्टता बारेमा सम्पन्न अन्तरकृया कार्यक्रममा सहभागीहरुले एक दर्जनभन्दा बढी प्रश्न राखेका थिए । सहभागीहरुको जिज्ञासालाई कार्यक्रमका प्रमुख अतिथि तथा बिशेष अतिथिद्धयले समाधानका बिकल्पहरु सुझाएका थिए ।

उनीहरुले बिशेषगरी त्यागी सकेको पुरानो नागरिकता देखाएर कारोबार गर्दा मातृभूमि र कर्मभूमी दुबैतिर गल्ती गरेको ठहरिने हुँदा त्यसो नगर्न तथा त्यसैको आधारमा अन्य कागजात नबनाउन, आफ्नो अवस्था के हो त्यहाँका कर्मचारीहरुलाई प्रष्ट बताउन सल्लाह दिएका थिए ।

नेपाली सांस्कृतिक केन्द्र (नेपाली घर) मा अप्रिल २९ तारिक सांझ ६ बजेदेखी राती ८ः३० बजेसम्म संचालित कार्यक्रममा कोलोराडोस्थित संघसंस्थाका प्रतिनिधि, बुद्धीजीवी, समाजसेवी, गन्यमान्य, पत्रकार, व्यबसायी, कलाकार, नेपाली भाषी बुबाआमा, दाजुभाई, दिदीबहिनीहरुको उपस्थिती रहेको थियो ।

एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्ष प्रकाश पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको शुरुमा च्याप्टरका निर्वतमान अध्यक्ष आरसी पन्तले कार्यक्रमका प्रमुख अतिथि तथा बिशेष अतिथिद्धयको छोटो परिचय दिएका थिए ।

कार्यक्रममा च्याप्टर सचिव अमृत विकले उपस्थित सबैलाई स्वागत गरेका थिए भने च्याप्टर अध्यक्ष तथा कार्यक्रमका सभापति प्रकाश पौडेलले उपस्थित सबैलाई धन्यवाद दिएका थिए । अन्तरक्रिया कार्यक्रम च्याप्टरका यूवा संयोजक चन्द्र गुरुङले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्