१२ आश्विन २०८१, शनिबार

कोलोराडोमा हुने इन्टर स्टेट पुरुष भलिबल प्रतियोगिता मूल आयोजक समिति गठन

कोलोराडोखबर संवाददाता , April 29th, 2024

मीन बोलखे (अमेरिका, कोलोराडो) । अमेरिकाको कोलोराडोमा नेपाली समुदायका बीचमा जुन २९ र ३० तारिखका दिन पहिलो पटक हुन लागेको अन्तरराज्य स्तरीय (इन्टर स्टेट) पुरुष भलिबल प्रतियोगिताबारे आइतबार पत्रकार सम्मेलन गरी औपचारिक घोषणा गरिएको छ ।

तमु प्ये ल्हु अमेरिकाको आयोजना तथा एनआरएनए कोलोराडो च्याप्टर र कोलोराडो नेपाली युथ क्लब (सीएनवाईसी) को सहआयोजनामा उक्त प्रतियोगिता गर्न लागिएको हो ।

कार्यक्रमबारे जानकारी दिन आयोजित कार्यक्रम तमु प्ये ल्हु अमेरिकाका अध्यक्ष चक्रबहादुर गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो । प्रतियोगितालाई सफल बनाउन आयोजकहरुले कोलोराडोस्थित सम्पूर्ण संघसंस्था, दाजुभाई दिदीबहिनी, समाजसेवी, गन्यमान्य व्यक्तित्वहरु र पत्रकारहरुसँग साथ, सहयोग र समर्थनको अपिल गरेका छन् ।

कार्यक्रममा एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्ष प्रकाश पौडेल, एनआरएनए कोलोराडोका प्रमुख सल्लाहकार तथा पूर्वध्यक्ष रामचन्द्र पन्त, कोलोराडो नेपाली युथ क्लबका संयोजक बिनोद गुरुङ, नेपाली घरका उपाध्यक्ष बसन्त लम्साल, ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठ, कोलोराडो खबर डटकमका मिन बोलखे, नेवा खलः प्रतिनिधि अनिल बज्रचार्य, मगर समाज कोलोराडो प्रतिनिधि बिनोद थापा मगर , शिकारी युथ क्लबका संयोजक हरिश खत्री नेपाली मनका राज कार्की, गोर्खाली युथका रविन न्यौपाने लगायतका खेलप्रेमी तथा खेलाडी साथीहरुहरुको उपस्थिती प्रतियोगिता आयोजक मूल कमिटी गठन गरिएको हो ।

प्रतियोगिता मूल आयोजक समितिमा टीपीएलएका प्रेसिडेन्ट चक्रबहादुर गुरुङ, एनआरएनए कोलोराडो च्याप्टर अध्यक्ष प्रकाश पौडेल, प्रमुख सल्लाहकार तथा पूर्वअध्यक्ष रामचन्द्र पन्त, सीएनवाईसीका संयोजक बिनोद गुरुङ, सन्तोष गुरुङ, अर्जुन गुरुङ, चन्द्र गुरुङ (समितिका संयोजक), कैलाश गुरुङ, सपना गुरुङ, राम गुरुङ, जोउ ब गुरुङ, शंकर गुरुङ र ढकबहादुर गुरुङ रहनु भएको छ । एनआरएनए कोलोराडो च्याप्टरका युवा संयोजक चन्द्र गुरुङ संयोजकत्वमा प्रतियोगिता हुनेछ ।

उक्त कार्यक्रममा शिकारी युथ क्लबबाट गोल्ड स्पोन्सर र नेपाली घरका उपाध्यक्ष बसन्त लम्सालबाट डायमण्ड स्पोन्सरको घोषणा गरियो ।

प्रतियोगितामा २० भन्दा बढी टिमको सहभागिता रहने आयोजकको आंकलन छ । कोलोराडोबाट एउटा बलियो टिम बनाइने र त्यसका लागि जोउ बि गुरुङ र अर्जुन गुरुङले जिम्मेवारी दिइएको छ । प्रतियोगिताको लागि कोलोराडोमा रहेका खेलप्रेमी खेलाडी साथीहरु तथा टीमहरुले ऐक्यबद्धता जनाउनु भएको छ ।

इच्छुक सहयोगी दाताहरुले प्रतियोगितामा डायमण्ड स्पोन्सरका लागि २०००, प्लाटिनम स्पोन्सरका लागि १०००, गोल्ड स्पोन्सरका लागि ५०० र सिल्भर स्पोन्सर गर्न चाहनेहरुले २०० डलर आर्थिक सहयोग गर्न सक्ने छन् ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ७००० डलर र दोस्रो हुने टिमलाई ४००० डलर पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताका विजयीहरुलाई जुन ३० तारिखका दिन नेपाल घरमा पुरस्कार वितरण गरिने छ । साथै सांगीतिक कार्यक्रम पनि आयोजना गरिने आयोजकले जानकारी दिएका छन् ।

कोलोराडोमा पहिलो पटक इन्टर स्टेट पुरुष भलिबल प्रतियोगिता हुँदै, तयारी शुरु

प्रतिक्रिया दिनुहोस्