-रमेशचन्द्र घिमिरे-
माटो पुरानै हो
भूमिगत माटो
यता खनिन्छ,
खाल्टो बन्छ र
उता भरिन्छ
एवम् क्रम
ढुङ्गा हालिन्छ खाल्टोमा
ढुङ्गा पुरानै हो
जग पुरिन्छ सिकर्मीको पौरखले
गारोको आकार दिन्छ
सिमन्टीमा घोलिन आउँछन्
गिटी र बालुवाहरू
मेरो जिन्दगीमा घोलिन आएका
आँसुका ढिक्का जसरी
र त्यहाँ मिसिन आउँछन्
श्रम पोख्नेका पसिना र
भिजिन आउँछन् तिनैका रगत ।
प्रविधिले नयाँ बनाएको सिमन्टीमा
गिटी, बालुवा सबै पुराना
कुटिएको गिटी
सोरिएका बालुवा
पुरानै पुराना कुराहरू बटुलिएर
अनि, केवल
सिमन्टीमा मुछिएर र
रङहरूमा चोबलिएर
मेरो नयाँ घरले आकार लिएको छ
ठीक त्यसरी नै
क्यालेन्डरका रङ्गीन पानामा सजिएर
नयाँ वर्ष आएको छ
देश पुरानै भए पनि/
भेष पुरानै भए पनि/
रीतिथिति व्यथा बिमार
जम्मै पुरानै भए पनि
धुवाँले पोतिएको कालो पर्दा
छोपे जसरी अनि
पुरानो घाउलाई नयाँ मलमले
सन्चो बनाउन खोजेजस्तो गरी
पुरानो क्यालेन्डर विस्थापित भएको छ
भित्ताको साइज फेर्न
नयाँ क्यालेन्डर टाँगिएको छ
म घरको नयाँ भित्तामा
नयाँ क्यालेन्डर हेर्दै
मनभरि पुराना वेदना सँगालेर र
पुराना घाउहरू सुम्सुम्याएर
तिमीलाई दिन खोज्दैछु –
शुभकामना, नयाँ वर्षको !
–भोर्लेटार, लमजुङ ।
प्रतिक्रिया दिनुहोस्