८ मंसिर २०८१, शनिबार

कोलोराडोमा बालबालिकालाई भाषा सिकाउँदै ‘नेपाली भाषा पाठशाला’

कोलोराडोखबर संवाददाता , November 10th, 2023

कोलोराडो । अमेरिकाको कोलोराडो निवासी नेपालीमूलका बालबालिकालाई नेपाली भाषा पढ्न, लेख्न, सुन्न र बोल्न सिकाउने उद्देश्यसहित नेपाली भाषा पाठशाला सञ्चालनमा रहेको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को नेतृत्व तथा दिदीबहिनी समूह (सिस्टर्स ग्रुप), गैर आवासिय नेपाली संघ (एनआरएनए कोलोराडो), नेपाली घर र रक्की माउन्टेन फ्रेण्डस् अफ नेपाली संस्थाको सहयोग र समन्वयमा उक्त पाठशाला सञ्चालन भएको हो ।

पाठशाला सन् २०२२ जुनबाट सञ्चालनमा आएको हो । पहिलो वर्ष कोलोराडोको नर्थग्लेन एक ठाउँमा मात्रै सञ्चालन भएको पाठशाला सन् २०२३ मा अरोरामा पनि बिस्तार भएको छ ।

पहिलो वर्ष भाषा पाठशालामा ४० जना र दोस्रो वर्ष दुई ठाउँमा गरी १२० जना बालबालिका सहभागी भए ।

प्रत्येक वर्ष कोलोराडोमा मे महिनादेखि अगस्ट महिनामासम्म विद्यालयहरु बन्द हुन्छन् । यो समर ब्रेकका ४ महिना नेपाली भाषा पाठशाला सञ्चालन हुने गरेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाका अध्यक्ष राजु सिटौलाले बताउनु भयो ।

नेपालमा रहँदा विद्यालयहरुमा पढाएका र हाल अमेरिकामा रहेकाहरुले नेपाली भाषा पाठशालामा स्वयम्सेवी रुपमा बालबालिकाहरुलाई नेपाली भाषा सिकाउने गरेका छन् । शुरुको वर्ष बालबालिकाहरुलाई निःशुल्क भाषा पाठशालामा सहभागी गराइए पनि हाल २०–२५ डलर रजिष्ट्रेशन शुल्क लिने गरिएको छ । चर्चको कोठामा भाषा पाठशाला सञ्चालन गर्ने गरिएको छ ।

पाठशालामा सहभागी बालबालिकाहरुलाई नेपाली भाषा, राष्ट्रिय गान, चाडपर्व, धर्मसंस्कृति, जनावर, नेपालको भूगोल जस्ताबारेमा बताइन्छ । मनोरञ्जन गराइन्छ र खाजा पनि खुवाइने गरिएको छ । यो पाठशाखा शनिबार २ घण्टा सञ्चालन हुन्छ ।

पाँचवर्षदेखि ८ वर्ष, ८ देखि १० वर्ष र १० देखि १२ वर्ष उमेरका बालबालिकाको लालीगुराँस, सगरमाथा र गण्डकी समूह बनाएर पाठशालामा पढाइन्छ । अर्कोवर्षबाट कोलोराडोको स्प्रिङ स्टेटमा पनि नेपाली भाषा पाठशाला बिस्तार गर्ने योजना रहेको अनेसासका कोलोराडो अध्यक्ष सिटौलाले बताउनु भयो ।

पाठशाला सञ्चालनका लागि शुरुमा लोकगायक पुरुषोत्तम न्यौपानेको प्रस्तुति आयोजना गरी केही रकम संकलन गरिएको थियो । त्यसैगरी चर्चित गायकगायिकाहरु रबिन शर्मा र रिमा गुरुङको उपस्थितिमा अर्को कार्यक्रम मार्फत आर्थिक संकलन गरिएको र यही नोभेम्बर ११ तारिकका दिन न्ह्यू बज्राचार्य, कालिप्रसाद बास्कोटा र इन्दिरा जोशीलाई सहभागी गराएर च्यारिटी शो गर्न लागिएको अनेसासका अध्यक्ष सिटौलाले जानकारी दिनु भयो ।

पाठ्य सामाग्री अमेरिकामै तयार गर्दा महङ्गो परेको र आगामी वर्षका लागि नेपालमै छापेर अमेरिका लगिने सिटौलाले बताउनु भयो । पाठशाला दिगो रुपमा सञ्चालनका लागि कोरोराडोको सरकारसँग पनि आर्थिक सहयोगका लागि पहल भइरहेको उहाँले बताउनु भयो ।

अमेरिकाको कोलोराडोका बिभिन्न क्षेत्रमा १० हजार जति नेपालीको वसोबास रहेको आंकलन छ ।

 

प्रतिक्रिया दिनुहोस्