८ मंसिर २०८१, शनिबार

प्रवासी नेपाली मञ्च क्यालिफोर्नियामा नयाँ नेतृत्व, अध्यक्षमा गौतम

कोलोराडोखबर संवाददाता , April 3rd, 2024

बोस्टन (अमेरिका) । प्रवासी नेपाली मञ्च, अमेरिकाको क्यालिफोर्निया राज्य कमिटीको नयाँ कार्यसमिति गठन भएको छ ।

गत मार्च २९ तारिख शुक्रवारका दिन सम्पन्न अधिवेशनले चिरञ्जीवी गौतमको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

प्रवासी नेपाली मञ्च, क्यालिफोर्निया राज्य कमिटीका अध्यक्ष कृष्ण गुरुङको अध्यक्षता र प्रनेम अन्तर्राष्ट्रिय कमिटीका सदस्य राजेन्द्र शिवाकोटीको प्रमुख आतिथ्यता रहेको अधिवेशनले, उपाध्यक्षमा राजु श्रेष्ठ, सचिवमा शम्भु शिवाकोटी र उपसचिवमा प्रकाश खनाललाई चयन गरेको छ ।

यसैगरी अधिवेशनमार्फत कमिटीको सदस्यहरुमा केबी चलाउने, प्रभाकर प्याकुरेल, हेमराज राई, गणेश जिसी र दीपक अधिकारी सर्वसम्मत चयन भएका छन् । अधिवेशनले ११ सदस्यीय कमिटीमा बाँकी दुइ सदस्यहरु भने राज्य कमिटीले पछि चयन गरेर पूर्णता दिने र सल्लाहकार कमिटीसमेत गठन गर्ने निर्णय गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि अन्तर्राष्ट्रिय कमिटीका सदस्य राजेन्द्र शिवाकोटीले मञ्चको स्थापना, उद्देश्य र महत्वका बारेमा प्रकाश पारेका थिए ।

सम्बोधनका क्रममा उनले प्रवासी नेपाली मञ्च विविध कारणले आफ्नो मातृभूमि नेपाल छोडी संसारभर छरिएर रहेका नेपालीहरुको साझा थलो भएको पनि जिकिर गरे । प्रमुख अतिथि शिवाकोटीले मञ्चलाई एकआपसमा आत्मीय सहयोग आदानप्रदान गर्ने र आफ्नो मातृभूमि नेपाल र नेपालीको सुख एवम् समृद्धिका लागि आपसमा हातेमालो गर्ने साझा थलोका रुपमा विकास गर्नु पर्नेमा जोड दिए । सम्बोधनका क्रममा उनले नयाँ निर्वाचित हुने कमिटीले मञ्चको लक्ष्य र उद्देश्य प्राप्तिका लागि सक्दो सहयोगी भूमिका निर्वाह गर्ने अपेक्षा गर्दै अधिवेशनको पूर्णसफलताको कामना गरे ।

कार्यक्रममा विशेष अतिथि तथा प्रनेम राष्ट्रिय कमिटी, अमेरिकाका सचिव छवि पाण्डेले संगठन, कमिटीका गतिविधिहरु, राज्य कमिटी बनाउनु कारण र प्रवासी नेपाली मञ्चले गरेका कामहरुको बारेमा संक्षिप्त जानकारी दिएका थिए । सम्बोधनका क्रममा उनले आउदो मे २५ र २६ तारिखमा क्यालिफोर्नियामा हुनगइरहेको मञ्चको साधारणसभामा सहभागी भई सफलतापूर्वक सम्पन्न गर्न राज्य कमिटी, सल्लाहकार कमिटी, क्यालिफोर्नियामा रहेका प्रवासी नेपाली मञ्चका सदस्यहरु र शुभेच्छुकहरुलाई अनुरोधसमेत गरेका थिए ।

अधिवेशनबाट निवार्चित हुनेहरुलाई कार्यक्रमका प्रमुख अथिति शिवाकोटीले सपथ खुवाएका थिए ।

प्रतिक्रिया दिनुहोस्