१२ आश्विन २०८१, शनिबार

गैरआवासीय नेपालीलाई राहदानी लिन सहजीकरण गरिदिन एनआरएनएको आग्रह

कोलोराडोखबर संवाददाता , March 28th, 2024

नेपाल । गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी लिने सम्बन्धमा सहजीकरणका लागि राहदानी विभागको ध्यानाकर्षण गराएको छ ।

नेपालको संविधानमा उल्लेखित आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहित नेपाल सरकारले गत अक्टोबरदेखि गैरआवासीय नेपाली नागरिकलाई गैरआवासीय नेपाली नागरिकता दिन सुरु गरिसकेको अवस्थामा सोही नागरिताबाट राहदानी लिने प्रकृया सम्बन्धमा भने कानूनले स्पष्ट दिशानिर्देश नगर्दा समस्या परेको भन्दै संघका पदाधिकारीहरु विभागका महानिर्देशक तीर्थराज अर्यालसँग छलफलका लागि पुगेका हुन् ।

संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले राहदानीका विषयमा विश्वभरका गैरआवासीय नेपालीहरुले चासो व्यक्त गरेको भन्दै स्पष्ट प्रावधानसहित राहदानी दिने प्रक्रियामा छिटोछरितो रुपमा सहजिकरणका लागि विभाग महानिर्देशक अर्यालको ध्यानाकर्षण गराएको हो ।

जवाफमा प्रमुख अर्यालले एनआरएनको समस्या पहिचान गरि समाधानका लागि आफूले यथाशक्य सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसअघि पनि संघको विभिन्न चरणमा विभागमार्फत सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । भेटमा अध्यक्ष डा केसीसहित उपमहासचिव सोम सापकोटा र एनआरएन अभियन्ता तीर्थ भट्टराईको उपस्थिति थियो ।

यसैबीच, गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री तथा भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसँग भेटवार्ता गरेको छ ।

भेटमा संघका अध्यक्ष डा केसीले गैरआवासीय नेपालीले उठाएका मुद्दाप्रति नेपाल सरकारले हालसम्म गरेका विभिन्न नीतिगत व्यवस्था र तिनको कार्यान्वयनका लागि कृतज्ञता व्यक्त गर्दै नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका विविध क्षेत्रको समृद्धिको लागि सरकार तथा सरोकारवालाहरुस“ग हातेमालो गर्दै सहकार्यका लागि संघको तर्फबाट प्रतिबद्धता जनाउनुभयो ।

सो क्रममा अध्यक्ष डा केसीले देशको पूर्वाधार विकासका लागि विश्वभरका गैरआवासीय नेपाली मिलेर १० अर्बको लगानी रहेको परियोजना सुरु गरेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो ‘अहिले १० अर्ब लगानीबाट सुरु गरेपनि भविष्यमा हाम्रो योजना ५० अर्बको लगानी भित्र्याउनेछ ।’
त्यसका लागि गैरआवासीय नेपालीहरुको बाहुल्य रहेको देशमा रोड शो समेत गर्ने र त्यसमा नेपाल सरकारलाई समेत सहभागी गराउने योजना रहेको डा केसीले बताउनुभयो ।

लगानी सम्मेलनमा एनआरएनएले सरकारस“ग सहकार्य गर्न लागेको जानकारी गराउँदै अध्यक्ष डा केसीले गैरआवासीय नेपालीहरुलाई हालको समयमा लगानीको वातावरण बन्दै गएपनि केही प्रावधानको सहजीकरणका लागि निरन्तर छलफलमा रहेको उल्लेख गर्नुभयो । केन्द्रमा मात्रै नभई नेपालका सातै प्रदेशका लागि बृहत योजना बनाई काम गर्ने रणनीति रहेको उहाँको भनाई थियो । सोही अवसरमा आगामी जुन महिनामा संघले प्रथम एनआरएन विश्व महिला सम्मेलन गर्न लागेको अवगत गराउनुभयो ।

जवाफमा मन्त्री महासेठले लगानीका क्षेत्र पहिचान गरेर मात्रै लगानी गर्न आग्रह गर्नुभयो । बिना अध्ययन ठूला ठूला परियोजनामा लगानी गर्नुभन्दा साना तर लगानी सुरक्षित हुने क्षेत्र पहिचान गर्न आवश्यक रहेको उहाँको भनाई थियो । फरक प्रसंगमा मन्त्री महासेठले जो जहाँ भएपनि गैरआवासीय नेपालीहरु एउटै कित्तामा उभिएर देशको लागि हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो उहाँले भन्नुभयो‘मन ठूलो बनाएर सबैसँग मिलेर अघि बढ्नुस् ।’

भेटमा उपमहासचिव सोम सापकोटा संघकी महिला सचिव तथा विदेशमा नेपाली सामान प्रवद्र्धन कमिटीकी संयोजक राधिका गुरुङ (टीका) एनआरएन अभियन्ता तीर्थ भट्टराई र अधिकृत कुनाल मिश्र उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्