१२ आश्विन २०८१, शनिबार

कोलोराडो निवासी नेपालीहरुले सामुहिकरुपमा आफ्नै भवनमा मनाए होली पर्व (फोटो फिचरसहित)

कोलोराडोखबर संवाददाता , March 25th, 2024

कोलोराडो । कोलोराडो निवासी नेपाली समुदायले आइतबार फागु अर्थात होली पर्व भव्यताका साथ मनाएका छन् ।

बसन्त ऋतुको आगमनसंगै आपसी मेलमिलाप, ऐक्यबद्धता र सद्भाब अभिबृद्धी गर्दै भावी पुस्तालाई संस्कृति सिकाउने उद्देश्यसहित नेपालीहरुको साझा संस्था नेपाली घरको आयोजनामा आफ्नै भवनमा हर्षोल्लासपूर्वक होली मनाइएको अध्यक्ष जगदिशचन्द्र ढकालले बताउनु भयो ।

पण्डित जीवन बरालबाट नेपाली धार्मिक परम्परा अनुसार मन्त्रोचारण र कार्यक्रममा उपस्थित कोलोराडो निवासी ज्येष्ठ नागरिक उत्तरा प्रधानले पूजा गर्नु भएपछि सामुहिक रुपमा होली खेलिएको थियो । स्थानीयवासी नेपालीहरुले कोलोराडो स्थित नेपाली सांस्कृतिक केन्द्रमा जम्मा भएर प्रत्येक वर्ष होली पर्व मनाईंदै आएको छ ।

आफ्नै भवनमा सम्पन्न कार्यक्रममा कोलोराडो स्थित सबै संस्थाका प्रतिनिधि, गन्यमान्य, बुद्धीजिवी, ब्यवसायी, पत्रकार, सर्वसाधारण बुबाआमा, दाजुभाई, दिदीबहिनी तथा नेपाल र नेपालीको संस्कृतीप्रति आस्था र चासो राख्ने करीब ५ सय जनाको उपस्थिति रहेको संस्थाका महासचिव भोला कटुवालले बताउनु भयो । एकआपसमा होली खेल्दै नाचगान पनि गरिएको थियो । सहभागीहरुलाई कार्यक्रम स्थलमा प्रसादको ब्यवस्था गरिएको थियो ।

असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ । फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलोमात्र गरिदैन नाचगान पनि गरिन्छ । विशेषगरी नेपाल, भारतसहित विश्वभरी छरिएर रहेका हिन्दु धर्माबलम्बीहरुले यो पर्व मनाउने गर्दछन् ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्