११ आश्विन २०८१, शुक्रबार

नेपाल अमेरिका पत्रकार संघको साधारणसभा सफल बनाउन सहयोगको प्रतिबद्धता

कोलोराडोखबर संवाददाता , March 4th, 2024

कोलोराडो । नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले संस्थाको १७औं वार्षिक साधारणसभा अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा गर्ने निर्णय गरेसंगै तयारी सुरु भएको छ । साधारण सभा मे २५ र २६ तारिकमा हुने यसअघि नै तय भइसकेको छ ।

यसैक्रममा, नेजाले गत मार्च २ तारिख शनिवार साँझ साधारणसभा हुने क्षेत्रमा क्रियाशील नेपाली समुदाय आबद्ध स्थानीय संघ संस्थाहरुसंग छलफल गरेको थियो ।

स्थानीय संघ संस्थाहरुको सहयोगी भूमिकाको अपेक्षा गर्दै नेजा र समुदायका बिचको सम्बन्धलाई थप प्रगाढ बनाउने, कार्यक्रमको बारेमा औपचारिक जानकारी दिने र अमूल्य सुझावहरु लिने मुख्य उद्देश्यले नेजाले भर्च्युअल रूपमा छलफल कार्यक्रमको आयोजना गरेको थियो ।

छलफलमा सहभागी संघ संस्थाहरुद्वारा नेजाको १७औं साधारणसभा सफल बनाउन आवश्यक पर्ने सहयोगको प्रतिबद्धता जाहेर गरिएको थियो। छलफलका क्रममा, प्राथमिकता दिएर नेजाको १७औं साधारणसभा बोस्टनमा गर्ने निर्णय गरिनु यस क्षेत्रमा सक्रिय संघ संस्थाहरु र समग्र नेपाली समुदायकै लागि अमूल्य अवसर भएको प्रतिक्रया दिदै सहभागीहरुले खुशी व्यक्त गरेका थिए ।

छलफल कार्यक्रमको मुख्य उद्देश्यहरुमा केन्द्रिकृत हुदै महासचिव बाबुराम दाहालद्वारा सहजिकरण गरिएको छलफलमा नेजा अध्यक्ष सुरज भण्डारीले नेजाको संक्षिप्त पृष्ठभूमिसहित संस्थागत परिचय प्रस्तुत गर्दै सहभागीहरुलाई नेजाको १७औं साधारणसभाका बारेमा औपचारिक जानकारी गराए। छलफल कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष भण्डारीले साधारणसभा सफलतापूर्वक सम्पन्न गर्न सबैको साथ र सहयोग नेजाका लागि अमूल्य र अपरिहार्य रहेको बताए ।

उनले न्यू इङल्याण्ड क्षेत्रमा सक्रिय नेपाली संघ संस्थाहरुको क्रियाकलापहरुबाट नेजा निकै प्रभावित भइ साक्षात्कार गर्न पनि संस्थाको महत्वपूर्ण कार्यक्रम १७औं वार्षिक साधारणसभा बोस्टनमा नै गर्ने निर्णय गरिएको उल्लेख गरे।

बोस्टनमा कार्यक्रम गर्ने निर्णय गरेसंगै नेजा परिवारमा उर्जासहितको उत्साह जागेको बताउदै अध्यक्ष भण्डारीले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न आवश्यक साथ सहयोगका लागि स्थानीय संघ संस्थाहरु र नेपाली समुदायसंग अपिलसमेत गरे। नेजाका उपाध्यक्ष सुजन पण्डितले न्यू इङल्याण्ड क्षेत्रमा सक्रिय संघ संस्थाहरुले समुदायका लागि पुर्याउदै आएको योगदान र नेजासंग स्थापित आत्मीय सम्बन्धको प्रशंसा गरे । उनले नेजा पनि नेपाली समुदायको उत्थानका लागि नेपाली समुदायका संघ संस्थाहरुसंग हातेमालो गर्दै अघि बढिरहेको र यस अभियानलाई अझ प्रभावकारी बनाउन थप लागिपरिरहेको बताए। उपाध्यक्ष पण्डितले सहभागीहरुबाट प्राप्त अमूल्य सुझावहरु र सहयोगका लागि व्यक्त प्रतिबद्धताप्रति खुशी व्यक्त गर्दै धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा नेजाका उत्तरपूर्व क्षेत्रीय संयोजक एवम् १७औं साधारणसभा आयोजक समितिका संयोजक सुपेन्द्र बस्नेतले सहभागीहरुलाई स्वागत गर्नुहुँदैं छलफल कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पारे । उनले कार्यक्रमका बारेमा संघ संस्थाहरुले देखाएको चासो, चिन्ता, छलफलमा जनाइएको सक्रिय सहभागिता र व्यक्त प्रतिबद्धताको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे । संयोजक बस्नेतले स्थानीय संघ संस्थाको साथ र सहयोगमा कार्यक्रम सफलतापूर्वक सम्पन्न हुनेमा आफू र आफ्नो संस्था विश्वस्त रहेको बताउदै तयारीका थप गतिविधिहरु संघ संस्थाहरुकै साथ सहयोगमा अघि बढाइने बताए ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाका उपाध्यक्ष प्रेम तामाङ, पूर्व सल्लाहकार दीनबंधु भट्ट, बिजय शर्मा, एनआरएनए अमेरिका, म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष प्रचण्ड श्रेष्ठ, उपाध्यक्ष राजु गुरुङ, न्यू ह्यामसायर च्याप्टर अध्यक्ष कमल ढुंगाना, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष गोवर्धन पूजा, म्यासाच्युसेट्स च्याप्टर अध्यक्ष महेश्वर पन्त, ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जिबिएनसि) की अध्यक्ष अन्जु थापा, महासचिव सोनाम शेर्पा, प्रवासी नेपाली मञ्च, अमेरिकाका केन्द्रीय उपाध्यक्ष भीम प्रकाश ओली, पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङल्याण्ड (प्याब्फोन)का ट्रष्टी उपाध्यक्ष मिलन गुरुङ, कार्यसमितिका उपाध्यक्ष मिलन कुमार कार्की, नेपाली वोमन्स ग्लोबल नेटवर्क (एनडब्लुजिएन) की अध्यक्ष कल्पना श्रेष्ठ, ब्लड डोनर्स अफ अमेरिकाको म्यासाचुसेट्स च्याप्टर अध्यक्ष राम थापा, बोस्टन तमु समाजका पूर्व अध्यक्ष मिन गुरुण, वर्तमान कार्यसमितिका उपाध्यक्ष रोबिन गुरुङ, नेवा अर्गनाइजेशन अफ न्यू इङल्याण्डका अध्यक्ष सन्जिव तुलाधर, खेलकुद ईंकका अध्यक्ष रन्जन दाहाल, मिडिया क्षेत्रमा सक्रिय शिव मिश्र, नेजा क्षेत्रीय संयोजक (उत्तर) रोशन अधिकारी, नेजाका पूर्व कार्यसमिति सदस्य दिनेश कार्कीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्