कोलोराडो । बिहीबार राति उत्कृष्ट प्रदर्शन गर्दागर्दै पनि नेपाली महिला टिम वाफ वुमन्स च्याम्पियनसिपको उपविजेतामै सीमित भएको छ ।
साउदी अरेबियाको ग्राउण्डमा नेपाल अन्तर्राष्ट्रिय महिला फुटबलमा पहिलो उपाधि जित्ने प्रयासमा थियो । तर प्रतियोगिताको सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी ‘साम्बा’ फाइनलमा खेल्न नपाउनु पनि नेपालका लागि दुर्भाग्यपूर्ण रह्यो । पहिलो हाफमा दबाबपूर्ण प्रदर्शन गरेको नेपालका लागि दोस्रो हाफ सुरु भएको केही समयमा प्लेमेकर प्रिति राई घाइते हुनु दुर्भाग्यपूर्ण रह्यो ।
पहिलो हाफमा १–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा त्यो अग्रता जोगाउन सकेन । जोर्डन दोस्रो हाफमा लगातार २ गोल गरी अग्रता लिए पनि नेपालले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै खेल बराबरीमा ल्याएको थियो ।
त्यसपछि निर्धारित समयमा २–२ को बराबरी भएपछि जोर्डनले नेपाललाई टाइब्रेकरमा ५–३ ले हरायो । नेपालको चौथो प्रहारमा अमृता जैँसी चुकेकी थिइन् ।
नेपालको तर्फबाट २९औँ मिनेटमा सविता रानामगरले पहिलो गोल गरेर अग्रता दिलाएकी थिइन् । ७३ औँ मिनेटमा जोर्डनले खेल बराबरीमा ल्याएको थियो । ८८ औँ मिनेटमा गोल गरेपछि जोर्डन उपाधि नजिक देखिएको थियो ।
तर इन्जुरी समयमा नेपालकी गिता रानाले प्राप्त पेनाल्टी अवसरमा गोल गर्दै खेल बराबरीमा पुर्याएकी थिइन् ।
जोर्डनले वाफ च्याम्पियनसिप छैटौँपटक जितेको हो । पहिलो पटक सहभागी नेपाल उपाधि चुम्ने विश्वासमा थियो, तर उपविजेतामै चित्त बुझाउन बाध्य भयो ।
प्रतिक्रिया दिनुहोस्