१२ आश्विन २०८१, शनिबार

एनआरएनएका अध्यक्ष केसी र अष्ट्रेलियन राजदूतबीच नेपाली विद्यार्थीका समस्याबारे छलफल

कोलोराडोखबर संवाददाता , February 28th, 2024

कोलोराडो । गैररआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका अध्यक्ष डा बद्री केसीले नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कसंग भेटघाट गर्नुभएको छ ।

डा. केसीले राजदूत भोल्कसंग मंगलवार अष्ट्रेलियन दुतावासमा भेट गर्नुभएको हो । भेटमा गैरआवासीय नेपाली संघको अभियान, अष्ट्रेलियामा रहेको नेपाली समुदाय, नेपाली विद्यार्थीको समस्याका बारेमा छलफल भयो । त्यसैगरि संघले कोसी प्रदेशमा आगामी जुनमा गर्न लागेको अन्तर्राष्ट्रिय चिया सम्मेलनका विषयमा समेत राजदूत भोल्कलाइ जानकारी गराउनुभयो ।

डा. केसीले गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको तर्फबाट राजदुत भोल्कलाई त्यहाँ रहेका नेपाली विद्यार्थीहरुका समस्याका बारेमा अनुरोध पत्र हस्तान्तरण गर्नुभयो । राजदूत भोल्कलाई बुझाएको पत्रमा नेपाली विद्यार्थीहरु र अस्थायी भिसा लिएर अष्ट्रेलिया जान चाहनेहरुको सहजिकरणको लागि काठमाडौंबाटै भिसा प्रदान गर्न अष्ट्रेलियाको भिसा कार्यालय पुनः स्थापना गर्न आग्रह गरिएको छ ।

त्यसैगरी, अष्ट्रेलियाको अर्थतन्त्रमा विशेषगरी शिक्षा क्षेत्रमा नेपालको महत्वपूर्ण योगदानको स्मरण गर्दै नेपालीहरुलाई लगानीको वातावरण बनाउन र ती लगानीहरुमा अनुदानको लागि सहयोग गरिदिन अष्ट्रेलिया सरकारसँग राजदूत मार्फत अनुरोध गरिएको छ ।

यस्तै, संघले ‘अष्ट्रेलिया–नेपाल’बीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन सांस्कृतिक कूटनीतिकको महत्त्वलाई जोड दिँदै अष्ट्रेलिया र नेपालबीच कला तथा सांस्कृतिक सम्बन्धको लागि सहकार्य गर्न समेत अनुरोध गरेको छ ।

भेटमा गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्