१० मंसिर २०८१, सोमबार

सर्लाहीको बलरामा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

कोलोराडोखबर संवाददाता , February 22nd, 2024

नेपाल (रौतहट) । सर्लाहीको बलरामा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइएको छ । बलरास्थित काका सामुदायिक सिकाइ केन्द्रले युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय सिंहदरबार, काठमाडौँको सहयोगमा २५औँ अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाएको हो ।

बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष रामचन्द्र महतो कुशवाहाको सभापतित्वमा भएको कार्यक्रमका सबै वक्ताहरुले मातृभाषा बज्जिकाको विकासको लागि धारणा राखेका छन् । मधेश प्रदेशको तेस्रो ठूलो मातृभाषा तथा दोस्रो ठूलो पितृभाषाको रुपमा रहेको बज्जिका भाषा नेपालको छैटौँ ठूलो भाषाको रुपमा रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयका सहायक महासचिव रामेश्वर राय यादवले कुनै पनि समाजलाई जोगाइराख्न त्यस समाजको भाषा र संस्कृतिको मौलिकतालाई बचाउनु आवश्यक रहेको बताएका छन् । प्रमुख अतिथि यादवले भाषालाई सुसंस्कृत बनाउन हरेकले सभ्य भाषाशैलीको व्यवहार गर्नुपर्ने धारण पनि राखेका छन् ।

केन्द्रका अध्यक्ष डा. कमलेश्वरकुमार सिन्हाले आफ्नो मातृभाषा बज्जिका रहेको र आफूले विगत केही वर्षदेखि निरन्तर रुपमा बज्जिका भाषाको क्षेत्रमा काम गरिरहेको बताएका छन् । केन्द्रले हरेक वर्ष अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउँदै आएको र यसपटकको मातृभाषा दिवसमा वाचित सबै रचनालाई समेटेर स्मारिका प्रकाशन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा डा. कमलेश्वरकुमार सिन्हा, राजेन्द्र ठाकुर, चन्द्रशेखरप्रसाद रस्तोगी, मनमोहन सिंह मनोहर, रामचन्द्र महतो कुशवाहा, विजयकान्त मिश्र तथा किंजलकुमारी मिश्रले बज्जिका भाषा र संस्कृतिमाथि कविता तथा गीत प्रस्तुत गरेका छन् ।

यसै गरी बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्ण, सञ्जय साह मित्र, बिन्दा सहनी, जितेन्द्रप्रसाद सिंहले बज्जिका भाषा र संस्कृतिको विकासमा भइरहेको प्रयासबारे प्रकाश पार्दै आगामी दिनमा बज्जिकालाई अझ समृद्ध बनाउन सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्