नेपाल । नेपालमा सोमबार फागुन ७ गते ७४औं प्रजातन्त्र दिवस मनाइँदैछ । यस अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।
१०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्रको उदय भएको दिनको स्मरणमा फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।
प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले विसं.१९९७ माघमा बलिदानी दिएका थिए ।
प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो ।
नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।
तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो ।
प्रतिक्रिया दिनुहोस्