१९ पुष २०८१, शुक्रबार

हिमालयन शेर्पालाई हराउँदै आयोजक बागमतीको विजयी सुरुवात

कोलोराडोखबर संवाददाता , February 15th, 2024

नेपाल (हेटौंडा) । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आयोजकले विजयी सुरुवात गरेको छ । बुधबार बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको खेलमा ए डिभिजन क्लब हिमालयन शेर्पा क्लबलाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै आयोजक बागमतीले विजयी सुरुवात गरेको हो ।

निर्धारित खेल समयमा १–१ गोलको बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । निर्धारित खेल समयमा बागमतीको लागि एलिश चौलागाईले दोस्रो हाफको २ औं मिनेटमा र हिमालयन शेर्पाका सन्दीप श्रेष्ठले खेलको ९० औं मिनेटमा पेनाल्टी मार्फत गोल गरे । खेलको म्यान अफ द म्याच एलिस घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । बागमतीका गोलरक्षक उमेश पाख्रिनले ९० औँ मिनेटमा दोहोरो पहेंलो कार्ड पाएपछी मैदान बाहिरिए। त्यही अवसरलाई सदुपोग गर्दै श्रेष्ठले पेनाल्टीमार्फत गोल गरेका हुन् ।

टाइब्रेकरमा बागमतीका लागि एलिश महर्जन, प्रितम स्याङ्बो, सामेल सुनार, रोशन दोङ र अमर पाख्रिनले गोल गरे । यस्तै हिमालयनका लागि दिवस उरौ, सत्यम शर्मा, धिरज थपलिया र विदेशी खेलाडी आब्मे फाकुलाइनले गोल गरे ।
हिमालयनका सन्दीप श्रेष्ठको प्रहार बागमतीका गोलरक्षक पवन आले मगरले उत्कृष्ट बचाउ गरे ।
विजयी आयोजक बागमतीले क्वाटरफाइनमा स्थान बनाएको छ । अब आयोजकले क्वाटरफाइनलमा फाल्गुन ६ गते विभागीय क्लब त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता अन्तर्गत बिहिबारको खेलमा सिमराको नवजनजागृती युवा क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्धर्पा हुनेछ । विजयी टिमले सेमिफाइनलमा स्थान बनाउनेछ ।

नकआउट चरणमा सुरु भएको प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । यस संस्करणको विजेताले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्