–लक्ष्मी ‘रेशमी’–
प्रश्न गरेर नथाक्ने म
आजकल मौन छु ।
खहरेको गड्गडाहटजस्तो
उर्लने भेलसरी
अनगिन्ती प्रश्न नै प्रश्न भएर
बगिरहेको जिन्दगी
बदलिएको छ
किनकि म मौन छु ।
आहिले म भित्र
प्रश्न कम
उत्तर धेरै छन्
कमजोर भएर हैन
बलियो बन्न
हारेको नसम्झनु
जीतको उन्मादमा आफैँलाई
नभुलुँ भनेर
कर्कस ध्वनीसाथ सोधिने
प्रश्नहरुको उत्तर
गम्भीर भएर खोज्न
हो, आजकल म मौन छु ।
उच्च पहाडको खोँचमा रहेको
शान्त तलाउ जस्तो
आफु भित्र निलगगन ओढेर
चुपचाप, चुपचाप
जहाँ चरीको चिरबिर आवाज
सल्लाको सुस्केरा
झरेको पातको
सर्याकसुरुक सुन्न
आकाशको सफा मानचित्र
मनभरी सजाउन
सेता बादलको चाललाई
अनुभुत गर्न
बिचित्रतामा
आफनो चित्र खोज्न
र आफैँलाइ चिन्न
हो, यसैले म मौन छु ।
–चन्द्रपुर, रौतहट ।
(२०८०–१०–२४)
प्रतिक्रिया दिनुहोस्