११ मंसिर २०८१, मंगलवार

बालकविताः बाको मोबाइल

कोलोराडोखबर संवाददाता , February 10th, 2024

–रमेशचन्द्र घिमिरे–

एकछिन गेम खेल्ने हो जे–जे हुन्छ होस्
आज बाको मोबाइल हुन्छ खोसाखोस् ।

हिसाब गर्छु भनेर दाइले तान्नुभो
फेसबुक खोल्न काकीले कैले जान्नुभो ?
नयाँ नौल‍ो यु ट्युबमा केके आएछ ?
मोबाइल हेर्न काकालाई मन लागेछ ।

रेडियोले के भन्छ ? यसमै सुन्छु म
नयाँ खबर सुनेर ढुक्क हुन्छु म
हजुरबाले मागेसी कस्को के लायो ?
तर मोबाइल खोसेर भाइले खेलायो ।

फिलिम् यस्मै हेरिन्छ कतै जान्नँ म
म‍‍‍ोबाइल छुन नदिए भातै खान्नँ म
यसो भन्दै दिदीले घुर्की लाउनु भो
फोटा हेरम् भनेर बज्यै आउनु भो
पात्रो हेरम् भनेर ठुल्दाइ आउनु भो ।

गीत सुन्न मन् छ रे कानमा लाएर
मोबाइल माग्दै पिरोल्छे बैनी आएर
कति बज्यो ? भनेर टाइम सोध्नुभो
झोक चलेछ आमालाई मोबाइल खोस्नु भो ।

बेट्री त्यसै नसिध्याऊ सेल्फी खिचेर
फोन गर्ने हो यसको काम अङ्क थिचेर
बाले यसो भन्नुभो चुप्प लाइयो
आखिर बाको मोबाइल बालाई बुझाइयो ।

बिग्रे पनि अब त हुन्न हाम्रो दोष्
आज बाको मोबाइल भयो खोसाखोस् ।

–भोर्लेटार, लमजुङ ।
(२०७५–०३–१०)

प्रतिक्रिया दिनुहोस्