अमेरिका । कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टलिजेन्स (एआई) क्षेत्रमा काम गर्ने नेपाली मूलका उद्यमीले सञ्चालन गरिरहेको कम्पनी फ्युज मेसिन अमेरिकाको स्टक एक्सचेन्ज नास्डाकमा सूचीकृत हुने भएको छ ।
सन् २०१३ मा नेपाली व्यवसायी डा. समीर मास्केले सुरु गरेको यो कम्पनी विश्वकै प्रतिष्ठित स्टक एक्सचेन्ज नास्डाकमा सूचीकृत हुने पहिलो नेपाली मूलको कम्पनी हुने भएको छ ।
अमेरिकामा मुख्यालय रहेको फ्युज मेसिनले नेपाल, डोमिनिक रिपब्लिकलगायतका देशमा कार्यालय स्थापना गरी कार्य गरिरहेको छ ।
नास्डाकमा सूचीकृत हुने लक्ष्यसहित फ्यूज मेसिन र सीएसएलएम एक्विजिसन कम्पनीबीच मर्जर सम्झौता भएको छ । सीएसएलएम नास्डाकमा सूचीकृत भई कारोबार गरिरहेको कम्पनी हो ।
सम्झौतापछि फ्युज मेसिनले चालु पुँजी प्रयोजनका लागि सीएसएलएमबाट झण्डै २० करोड अमेरिकी डलर लगानी प्राप्त गर्ने छ । फ्यूज मेसिनका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत मास्केले सो रकमले नयाँ प्रोडक्ट विकास गर्न सहयोग पुग्ने बताएका छन् ।
फ्यूज मेसिनको कुल मूल्याङ्कन २ सय मिलियन अमेरिकी डलर (२५ अर्ब रुपैयाँ) हुने गरी नयाँ कम्पनी मर्जरको सम्झौता भएको डा. समीर मास्केले बताएका छन् ।
काठमाडौंमा जन्मिएका डा. मास्केले अमेरिकी विश्वविद्यालयबाट उच्च शिक्षा हाँसिल गरी आर्टिफिसियल इन्टलिजेन्सका क्षेत्रमा काम गर्दै आएका थिए । उनी कोलम्बिया विश्वविद्यालयका एसोसिएट प्रोफेसरसमेत हुन् । – अन्तर्राष्ट्रिय समाचार संस्थाहरुबाट
प्रतिक्रिया दिनुहोस्