-धनराज गिरी-
धोका,धोका,धोका! अनेक पटक धोका दियो उसलाई उसको मित्रले। धोका खाने मित्र हो ” दुर्योधनलाल कर्ण ” तराई निवासी। अति सोझो।” दङ्गराज कर्ण ” भनेर जिस्क्याउने उसलाई कलेजमा। ऊ एम ए पहिलो बर्षको विद्यार्थी ।
उसको नजीकको मित्र ” सज्जनलालदास गुप्ता” नाम सज्जन, हेर्दा अति भलाद्मी,तर भित्री महाशकुनि,अति कपटी। के धोका दियो त? अरू होइन, जुन जुन नयाँ मित्र बनाउन खोज्छ दुर्योधनले,भित्र भित्र नभएको नभएको फत्तुर कुरा,मिथ्यारोप लगाएर सम्बन्ध भत्काइदिने,कपटी। ” त्यो त राम्री पुतली देख्नै हुन्न,घरमा लैजान हुन्न,सापटी दिनहुन्न,मनको कुरा भन्नहुन्न !” यस्तै आरोपहरू ।
गुप्ताको गुप्त रूप थाहा पायो कर्णले,अनि सोच्यो,” हेर मित्र,म अति सोझो,मनमा पाप छैन,तर तेरो भित्री खेल बुझेको छु, यति कुरा ख्याल गर्नू, म एक सोझो मान्छे घातक सिनेमाको सन्नी देवल बन्न नपरोस् !सहन्छु,एउटा सीमासम्म। प्रतिशोधको भावना छैन मभित्र। ” सोच्यो मात्र।
बिहे भयो गुप्ताको,अचम्म,सम्पूर्ण मेलोमेसो मिलाउने दुर्योधन।अति राम्री कन्या,अझ जमिन्दार कुबेरनारायण श्रीवास्तवकी छोरी,मधुबाला! लमीको काम दुर्योधनको। दङ्ग विदुरकान्त झा,उसलाई लीला थाहा थियो गुप्ताको। पीडा थाहा थियो दुर्योधनको। बिहेको सात दिनपछि विदुर गयो दुर्योधनको घरमा।
” यार दुर्योधन,यो कुन शैली हो? धोकामाथि धोका दिनेलाई यत्रो पुरस्कार ?” विदुर। कटु मुस्कान, अनुहारमा अलग चमक,” यो पुरस्कार होइन?दण्ड हो!अनायक नेपाली नेता प्रधानमन्त्री हुन विवश भएजस्तै, नालायक पात्र अध्यक्ष वा क्याम्पसप्रमुख भएजस्तै, कमजोर पुस्तकले ठूलो साहित्यिक पुरस्कार पाएजस्तै,यो बिबाह एक सजाय हो,मेरो ” खप्रलु ” हो। हेर्दैजानू। सोझोलाई धोका दिनुको परिणाम! हेर्नू!” दुर्योधन । जिल्ल विदुर! ” होइन,के हो यो खप्रलु,गोरावि,धराप, लप्रगौ,केनाख,नाप्रख त सुनेकै हो,गोराभ पनि सुनेकै हो,” खप्रलु” भनेको के हो?ऊर्वसी मात्र होइन त्यति दौलतमन्द ससुराली बनाइदिने,अनि यस्तो कुरा?केही बुझिएन हौ साथी! के हो यो ” खप्रलु?” के लीला हो?”
” खतरनाक प्रतिशोध लुकेको,लुकेको खतरनाक प्रतिशोध, यो मेरो उत्तर आधुनिक शैलीको बदला हो,इन्तकाम,हेर्नू अन्जाम! अति राम्री पत्नी हुनुको पीडा थाहा हुनेछ, ३६ ब्वाई फ्रेण्डवाली!खप्रलु,यही हो पौराणिक काका!” दुर्योधन।
” हा हा हा,डेन्जर, दुर्योधन,यार तिमी त … खप्रलु!” विदुर।
नभन्दै, अभिशाप भयो बिबाह। रङ्गेहात समायो दुलहीलाई गुप्ताले पुरानो यार यादव गौतमसित। आवेगमा दुबैको हत्या गर्यो।अहिले आजीवन कारावास। ” खप्रलु ” कामयाव भयो।
-चितवन, नेपाल ।
प्रतिक्रिया दिनुहोस्