नेपाल । वरिष्ठ गायक योगेश बैद्यको निधन भएको छ । वैद्यको भ्याली अस्पताल लाने क्रममै बिहीबार राति साढे १२ बजे उनको निधन भएको हो ।
७७ वर्षका वैद्यलाई प्रतिष्ठित ‘धुंस्वां सायमी सिरपाः’ सम्मान प्रदान गरिएको थियो । उनका नेपालीमा ‘सपना भुलाई सारा आँसु लिएर जाउ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लोकप्रिय छन् । यस्तै नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ लोकप्रिय छन् ।
विसं २०२२ मा किरण खरेलको शब्द र नातिकाजीको संगीतमा योगेश वैद्यको पहिलो गीत रेकर्ड भएको थियो ‘कति प्यासी छ जिन्दगी’ । त्यसपछि ‘जीवन जिगु…एउटा नेवारी गीत पनि गाए । त्यसपछि रत्न रेकर्डिङ संस्थानमा एकैपटक चारवटा गीत डिस्क रेकर्ड भए । कति प्यासी… सहित नित्य नयनमा तारा, प्रेमको अधुरो कहानी । करिब ३३ वर्ष सरकारी जागिर खाएका योगेश विसं. ०६१ मा सहसचिव पदबाट अवकाश लिएका थिए ।
उनको शुक्रबार पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरियो । उनको पार्थिव शरीरलाई छोरा लोकेस नन्दन वैद्यले दागबत्ती दिए । करिब पाँच सय नेपाली गीत तथा झण्डै एक सयभन्दा बढी नेपाल भाषाको गीतमा स्वर दिएका वैद्यले पछिल्लो समय पक्षघातसम्बन्धी समस्या झेलिरहेका थिए । गायक वैद्यको केही समयअघि मिर्गौलासमेत प्रत्यारोपण गरिएकामा केही दिनदेखि रुघाखोकीबाट ग्रसित थिए । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् ।
योगेशको आवाज भरिएको लोकप्रिय गीत ‘सपना भुलाई सारा आँशु पिएर जाउ, मन्दिरमा छ तिम्रै तस्वीर लिएर जाउ’ रेकर्डिङका सन्दर्भ संगीतकार टीका भण्डारीले सामाजिक सञ्जालमा यसरी लेखेका छन्ः
एकदिन वैद्य नातिकाजीको कोठामा पसे । उनी संगीतमा व्यस्त थिए । नातिकाजीको टेवलमा एउटा गीत लेखिएको कागजमा उनको आँखा पर्यो । त्यो गीत पढे । त्यसमा लेखिएको थियो,
सपना भुलाई सारा आँशु पिएर जाउ,
मन्दिरमा छ तिम्रै तस्वीर लिएर जाउ
यो गीतले उनलाई एकदमै छोयो । उनले नातिकाजीलाई भने–मलाई यो गीत मनपर्यो नातीदाइ । म गाउँछु । नातिकाजीले पनि गीत पढे । गुनगुनाए । अलिअलि लय बनाउने प्रयास गरे । त्यस पछि नातिकाजीले योगेशलाई भोलिपल्ट आउन भने ।
अर्को दिन उनी जाँदा नातिकाजी रेकर्डिङ स्टूडियोमा थिए । नातिकाजीले उनलाई गीत तयार छ, रिहर्सल गर्न भने । उनले पनि आठ दस पटक अभ्यास गरे । चार पाँच घण्टामा यो गीत तयार थियो ।
उनले अन्तर्वार्तामा भनेका थिए–यो गीत मैले एकदमै चाँडै रेकर्ड गरेको गीत हो । कुनै कुनै गीत त मैले महिनौ अभ्यास गरेको छु । म गीत कन्ठस्थ पार्थें । सायद त्यसैले म गीतमा डुबेर त्यसको सारा भाव आवाजमा भर्न खोज्थेँ । गीत लेखेका थिए शिव अधिकारीले । तर गीत गाउने बेलामा गीतकारको नाम कागजमा थिएन । धेरै पछि मात्रै गीतकारको नाम थाहा भयो । योगेशले आफ्नो चर्चित गीतका गीतकारलाई धेरै पछि मात्रै भेट्ने मौका पाएका थिए ।
गायक योगेश वैद्यबारे केही कुराः
१. २०१४ सालताका चिनियाँ प्रधानमन्त्री चाउ एन लाई नेपाल आउँदा युग कवि सिद्धिचरण श्रेष्ठले लेखेको गीत सुनाए पछि उनको चर्चा सुरु भएको थियो ।
२. भाषिक आन्दोलन चलिरहेको समयमा वैद्यलाई गणेशमान सिंह, सिद्धिचरण श्रेष्ठ लगायतको साथ थियो ।
३. २०२५ सालमा किरण खरेलको शब्द र नातिकाजीको संगीतमा ‘कति प्यासी छ जिन्दगी’ गीत गाएपछि उनी अझै चर्चित भए ।
४. त्रिभुवन विश्वविद्यालयबाट वनस्पति शास्त्रमा र गेन्ट स्टेट विश्वविद्यालय बेल्जियमबाट खाद्य तथा पोषणमा स्नातकोत्तर थिए वैद्य ।
५. वैद्यले तीन दशकभन्दा बढी सहसचिव स्तरको प्राविधिक सरकारी सेवामा रहेर काम गरे । जागिरे जीवनमा पनि गायन छाडेनन् ।
६. वैद्यले मवीवि शाहले लेखेको ‘नेपाल मेरो तिमीलाई उपहार भो’ गीत २०२७ सालमा रेकर्ड गराएका थिए ।
७. ‘सपना भुलाइ सारा’ उनले २०४२सालमा रेकर्ड गराएका, उनलाई रचनाकार शिव अधिकारी हुन् भन्ने थाहा थिएन । पछि बल्ल थाहा भयो ।
८. बैद्यको मूल थाँतथलो पशुपति जयवागेश्वरी हो । पछि नरदेवी पुगे । बाल्यकाल नरदेवीमै बित्यो ।उनि भन्ने गर्थे ूम आज पनि नरदेवीकै घरको सपना देख्छु । जबकी ४० वर्ष टेकुमा बित्यो । मनमष्तिष्कमा नरदेवी नै छ ।”
९. रेडियो नेपालमा २०२२ सालमा स्वर परीक्षा पास भए पछि मात्र गायन यात्रा प्रारम्भ भएको थियो ।
प्रतिक्रिया दिनुहोस्