नेपाल । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको छ । शिक्षा मन्त्रालयका अनुसार मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री समक्ष राजीनामा दिनुभएको हो ।
नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै गत चैत १५ गतेदेखि निरन्तर काठमाडौँ केन्द्रित शैक्षिक आन्दोलन गर्दै आएको छ ।
देशभरका शिक्षकहरूले सङ्घीय राजधानीको सडकमा चर्काएको १९ दिन पुग्दा यता शिक्षामन्त्री भट्टराईले भने पदबाट राजीनामा दिनुभएको हो । उहाँले सोमवार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा पत्र बुझाउनु भयो । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका देशभरका शिक्षकहरूको मागलाई सम्बोधन गर्न उहाँ सक्रिय रूपमा लाग्नुभएको थियो ।
लामो समयदेखि संसदीय समितिमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयकलाई पारित गर्न उहाँले सक्रियता बढाउनु भएको थियो । उहाँले सोमवार बस्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकमा आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्ने गरी ७ बुँदे प्रस्ताव लैजाने तयारी गर्नुभएको थियो । गत चैत २० गतेदेखि आन्दोलन शुरु गरेका शिक्षकहरूले चैत्र २५ गते देखि शैक्षिक सत्र ठप्प पारेर काठमाडौं केन्द्रित आन्दोलन शुरु गरेका थिए ।
सरकारले वैशाख १२ गतेदेखि शुरु हुने संसदको बजेट अधिवेशनबाटै विद्यालय शिक्षा ऐन जारी गर्ने आश्वासन दिँदै आन्दोलन छोड्न आग्रह गरिरहे पनि शिक्षकहरूले सडक छाडेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्