९ बैशाख २०८२, मंगलवार

दस्तावेजः नेजा स्थापना दिवसको सन्देश

कोलोराडोखबर संवाददाता , April 22nd, 2025

आज नेपाल अमेरिका पत्रकार संघ (नेजा) को स्थापना दिवस । सन् २००७ मा स्थापित संघले आफ्नो १८औं वर्ष पूरा गरेको छ । तत्कालीन समयमा कर्मदेशमा अग्रजहरूबाट आफ्ना पेसागत भावनालाई जोड्ने एउटा आधार जगको रुपमा नेजा खडा भएको थियो । नेपालमा रहँदा पत्रकारितामा सक्रिय अग्रजहरूले अमेरिकी राज्य भर्जिनियाबाट उत्तर अमेरिका (अमेरिका र क्यानाडा)मा रहेका नेपाली पत्रकारहरूलाई जोड्ने गरी थालनी गरेको नेजा आज उत्तर अमेरिकामा सक्रिय नेपाली मूलका पत्रकारहरूको छाता संस्थाको रुपमा उभिएको छ ।

भावनात्मक रुपमा नेपाल बाँचिरहेका र मनमा नेपाल बोकिरहेका नेपालीलाई नेपालसँग जोड्ने कार्यमा नेजाले संस्थागत भूमिका निर्वाह गर्दै आएको छ । व्यक्ति परिचयको अर्को आधारको रुपमा रहने एउटै पेसासँग जोडिएकाहरूलाई समेटेर संस्था निर्माण गर्ने कुराले कर्मभूमिमा ठूलो अर्थ बोकेको थियो र छ । नेजाका संस्थापकहरूले देखेको सपना, बुनेको सुरुवाती आधार अनि कोरेको पथमा समयानुसार बनेका कार्यसमितिहरूले लिएका नीति र तय गरेका योजनाहरूमा सदस्यहरूको साथ, सहयोग र सहभागितामा समयको आवश्यकताबमोजिम नेजाले आफ्ना गतिविधिहरू केन्द्रित गर्दै आएको छ ।

प्रविधियुक्त पत्रकारिताको आजको यो समयमा माध्यमका हिसाबले पत्रकारिता सरल र सहज त भएको छ नै, विश्वको जुनसुकै स्थानमा रहेर पनि आफूले जसका लागि पत्रकारिता गर्न चाहेको हो त्यो लक्षित वर्गसम्म पुग्नसमेत सजिलो भएको छ ।

प्रविधिले संसारलाई साँघुरो बनाएजस्तै पत्रकारिता गर्ने माध्यमको सहजताले पत्रकारिता गर्नेहरूलाई समेत फराकिलो दायरा निर्माण भएको छ । अनि पत्रकारिताको निरन्तरतामा समेत यसले सघाएको छ भने संस्थागत रुपमा समेत पत्रकारिताको विकास र पत्रकारिताको प्रवर्धनका लागि नेजाले गर्न सक्ने भूमिकासमेत प्रविधिले अझ प्रभावकारी बनाएको छ । व्यावसायिक ढंगबाट समेत सामुदायिक पत्रकारिता अघि बढ्ने स्थिति निर्माण हुँदै गएको छ भने नेपाली मूलका पत्रकारहरूले पत्रकारितालाई नै पेसाको रुपमा अँगाल्ने अवस्था निर्माण हुने क्रम बढ्न थालेको छ । सहजता र अवसरसँगै जिम्मेवारी र चुनौति नभएको होइन तापनि सकारात्मकताको खोजी गर्दै पत्रकारिताको संस्थागत विकासमा लागि यसलाई प्रविधिले उलपब्ध गराइदिएको मौकाको रुपमा लिनु आवश्यक छ । धेरै पत्रकारहरू सञ्चारमाध्यमहरू चलाएर वा स्वयं सामग्री उत्पादन र प्रसारण गरेर व्यावसायिक ढंगबाट अघि बढ्न सक्ने अवस्था बनेको छ ।

रहर वा चाहनाको जगमा पत्रकारितासँग साइनो राखिराखौं भन्ने अवस्थाबाट बिस्तारै हाम्रो पत्रकारिताले दायरा बढाउने अवसर पाएको छ । र, सुखद सम्भावनाको खोजी गर्न सकिने आजको अवस्थासम्म आइपुग्न नेजाको महत्त्वपूर्ण योगदान रहेको छ । यसमा नेजाका संस्थापकहरू, नेजाका संस्थापक एवं पूर्वअध्यक्ष तथा पूर्वकार्यसमिति, वर्तमान कार्यसमिति, सञ्चारमाध्यमहर, नेजाका सदस्यहरू एवं यहाँको नेपाली समुदायको भूमिका अतुलनीय रहेको छ । फेरि पनि नेजालाई अझ फराकिलो, प्रभावकारी र अझ सशक्त संस्था बनाउने दिशामा सबैको सामूहिक प्रयास खाँचो सदैव रहेको हुन्छ । नेजाको स्थापना दिवसको अवसरमा नेजामा आबद्व सबै पत्रकारहरूमा शुभकामना व्यक्त गर्दछु । नेजाका संस्थापकहरू एवं अग्रजहरूमा सम्मान प्रकट गर्दै नेजाको स्थापनादेखि अहिलेसम्म नेजासँग सहकार्य गर्ने र सहयोग गर्ने सबैमा हार्दिक धन्यवाद छ ।

सुरज भण्डारी
अध्यक्ष
नेपाल अमेरिका पत्रकार संघ (नेजा)
अप्रिल २१, २०२५ ।

प्रतिक्रिया दिनुहोस्