६ बैशाख २०८२, शनिबार

कविता: भन ! तिम्रो अन्तिम इच्छा के छ ?

कोलोराडोखबर संवाददाता , April 19th, 2025

-आर. आर. चौलागाईं-
गोली खाएर मर्छौ कि
आगोमा जलेर मर्छौ ?
फाँसीमा झुन्डिएर मर्छौ कि
विष खाएर मर्छौ ?
बाढीमा बगेर मर्छौ कि
भीरबाट खसेर मर्छौ ?
तिमी कसरी मर्छौ ?
हामी यमराजका दूत हौँ तिमीलाई लिन आएका
भन ! तिम्रो अन्तिम इच्छा के छ ?

चक्कुबाट छियाछिया भएर काटिएर मर्छौ कि
तातो तेलमा भकभक उम्लिएर मर्छौ ?
घाँटी सेरिएर मर्छौ कि
बाघको मुखमा परेर मर्छौ ?
ढुङ्गाको हिर्काइबाट मर्छौ कि
हिलोमा गाडिएर मर्छौ ?
तिमी कसरी मर्छौ ?
हामी यमराजका दूत हौँ तिमीलाई लिन आएका
भन ! तिम्रो अन्तिम इच्छा के छ ?

तिमीले हामीलाई
न दिनमा राम्रोसँग बस्नखान दियौ
न रातमा राम्रोसँग सुत्न दियौ
तिमीले हामीलाई
न खित्का छोडेर राम्रोसँग हाँस्न दियौ
न कम्मर मर्काएर राम्रोसँग नाच्न दियौ
तिमी कसरी मर्छौ ?
हामी यमराजका दूत हौँ तिमीलाई लिन आएका
भन ! तिम्रो अन्तिम इच्छा के छ ?

गाडीले किचिएर मर्छौ कि
भालाले रोपिएर मर्छौ ?
छतबाट हाम फालेर मर्छौ कि
सर्पलाई टोकाएर मर्छौ ?
बममा पड्किएर मर्छौ कि
अचानोमा टाउको राखेर मर्छौ ?
तिमी कसरी मर्छौ ?
हामी यमराजका दूत हौँ तिमीलाई लिन आएका
भन ! तिम्रो अन्तिम इच्छा के छ ?

-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्