नेपाल । केपी ओली कप टी-२० राष्ट्रिय खुला पुरुष क्लब स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी हिरोजले जितेको छ ।
मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा सिइसी काठमाडौंलाई ५ विकेटले हराउँदै च्याम्पियन बनेको हो । च्याम्पियन गण्डकीले १० लाख रुपियाँ प्राप्त गर्दा उपविजेता काठमाडौंले पाँच लाख रुपियाँ प्राप्त गरेको छ ।
१ सय ८३ रनको विजयी लक्ष्य पाएको गण्डकीले १७ दशमलव ३ ओभरमा ५ विकेट गुमाउँदै १ सय ८५ रन बनायो। गण्डकीका वसन्त कार्की २७ र नारायण जोशी १३ रनमा नटआउट रहँदै टोलीलाई जित दिलाए ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको काठमाडौँले १९ दशमलव ४ ओभरमा १ सय ८२ रन बनाउँदै अलआउट हुन पुग्यो। उत्कृष्ट ब्याटर अत्तरियाका विपीन रावल र उत्कृष्ट बलर लुम्बिनीका अजय कुमार चौहान घोषित हुँदै समान २०–२० हजार रुपियाँ प्राप्त गर्नुभयो। विजेता खेलाडीलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पुरस्कार वितरण गर्नुभयो ।
चैत २३ गतेबाट सुरु भएको प्रतियोगितामा कुल १६ टिमको सहभागिता थियो । बागमतीबाट चार र अन्य प्रदेशबाट दुई–दुई क्लबको सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस्