६ बैशाख २०८२, शनिबार

बस दुर्घटनामा २ को मृत्यु, १४ जना घाइते

कोलोराडोखबर संवाददाता , April 18th, 2025

नेपाल (हेटौंडा) । मकवानपुरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय​ मकवानपुरका अनुसार काठमाडौंबाट हेटौ‌डातर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ७०७२ नम्बरको बस मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा गएराति १ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी रौतहटकी ५० वर्षीया नीलमदेवी राउतको उपचारको क्रममा बिहान हेटौंडा अस्पतालमा मृत्यु भएको हो । सर्लाहीकी १३ वर्षीया मानुसी मगरको शव बिहान घटनास्थल नजिकैको खोल्सामा फेला परेको हो ।

इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट खटिएको प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीको टोलीले घाइतेको उद्धार गरेको थियो । गाडीमा चालकसहित १६ जना सवार थिए ।

प्रहरीका अनुसार बस सडकबाट करिब २०० मिटर तल खसेको थियो । हेटौंडा अस्पतालमा १० जना र मकवानपुर सहकारी अस्पतालमा अन्य घाइतेको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्