६ बैशाख २०८२, शनिबार

भारतीय राष्ट्रपति भवनमा नेपाली चित्रकारको कला प्रदर्शनी

कोलोराडोखबर संवाददाता , April 17th, 2025

नेपाल । भारतको नेसनल ग्यालरी अफ मोर्डन आर्टको आयोजनामा ‘भिजन २०४७ः विकसित भारत’ शीर्षकमा दुई हजार बढी चित्रकारले क्यानभास पेन्टिङ बनाएका थिए ।

नयाँ दिल्लीस्थित पुरानो किलामा आयोजना गरिएको एकदिने आर्ट क्याम्पमा कपिलवस्तुकी सञ्चिता अग्रहरिले करिब चार घण्टा लगाएर भारतको आर्थिक प्रगतिको चित्रण क्यानभासमा उतार्नुभएको थियो । त्यो चित्र उत्कृष्ट १५ मा पर्न सफल भएको थियो । भारतको राष्ट्रपति भवनमा चलेको प्रदर्शनीमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले अवलोकन गर्नुभएको थियो ।

“मैले भारतको विश्वव्यापी आर्थिक विस्तारलाई चित्रमा उतारेकी हुँ,” सञ्चिताले भन्नुभयो, “रुपियाँको प्रतीकले वित्तीय शक्ति, बुलले मजबुत अर्थतन्त्र, अशोक चव्रmले लोकतन्त्र र स्थिर प्रगति तथा सेतो छिटाले द्रुत गतिमा भइरहेको विकासलाई देखाउँछ ।” राष्ट्रपति मुर्मूले तस्बिरको भावले भारतको आर्थिक विकासलाई प्रदर्शन गर्ने बुझाइका साथ चासो दिएर अवलोकन गर्नुभएको थियो ।

कपिलवस्तु नगरपालिका–२ की २५ वर्षीय सञ्चितालाई पेन्टिङमा सानैदेखि रुचि थियो । उहाँले विद्यालयमा चित्र बनाएर पुरस्कार जित्नु हुन्थ्यो । त्यसैको प्रेरणाले प्रोट्रेट, ल्यान्डस्केप, हिस्टोरिकल र आयल पेन्टमा विभिन्न सिर्जना गर्नुभयो । उहाँले स्नातक तहको अध्ययन पूरा गरेपछि अवधी लोककलाका चित्र बनाउनुभयो । चित्रकलाप्रतिको रुचि पूरा गर्न उहाँले भारतको दिल्लीस्थित ‘दिल्ली कलेज अफ आर्ट’ लाई रोज्नुभयो ।

तीन वर्षदेखि उहाँ ‘फाइन आर्ट’ विधामा स्नातक गर्दै हुनुहुन्छ । अध्ययनको क्रममा उहाँ पहिलो वर्षको परीक्षामा कलेजमा उत्कृष्ट विद्यार्थी बन्नुभयो । अहिलेसम्म उहाँले ५० भन्दा बढी आयल पेन्टिङ बनाइसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्