नेपाल । सरकारले वैशाख १२ गतेका लागि संसद् अधिवेशन आह्वान गर्न सिफारिस गर्ने भएको छ । मन्त्रीपरिषद्को मङ्गलबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
संघीय संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्नेसमेतका प्रयोजनका लागि संसद्को अधिवेशन आह्वान गर्ने निर्णय भएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बताउनुभयो । उहाँका अनुसार सरकारका तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय पनि मन्त्रीपरिषद्ले गरेको छ ।
यसका लागि संघीय संसद् वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे आह्वान गर्ने निर्णय भएको छ । नेपाल शिक्षक महासंघले उठाएका मागको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील रहेको बताउँदै मन्त्री भट्टराईले शिक्षकका यथोचित मागका सम्बोधन गर्न सरकार सधैँ तयार रहेको जानकारी दिनुभयो । यस विषयमा मन्त्रीपरिषद्मा पनि छलफल भएको थियो । विभिन्न पेसागत माग राखेर नेपाल शिक्षक महासङ्घको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको पनि मन्त्री भट्टराईले बताउनुभयो ।
हाल विद्यार्थी भर्ना अभियान सञ्चालन भइरहेको, एसइईको उत्तरपुुस्तिका परीक्षण गर्नुपर्ने तथा कक्षा १२ को राष्ट्रिय परीक्षाको मितिसमेत नजिकिएका कारण सरकारले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी कार्यथलोमा फर्किन सम्पूर्ण शिक्षकलाई अनुरोधसमेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्