-सर्वज्ञ वाग्ले-
आजकल नयाँ वर्षले हर्षको साटो
त्रास, भय र दुख लिएर आउँछ
उमङ्गका चङ्गाहरु उड्दैनन्
जीवन उल्लासमय हुन छोडेर
निरासाको गर्तमा भासिएका छन्
कसरी भनूँ म नयाँ वर्ष
जसले नविन सोच होइन
पुरातन मान्यताको वकालत गर्छ l
खुशीको बहार भुलेर
दुखको आँधी बोकी ल्याउने नयाँ वर्ष
न हिजो, न आज
कहिल्यै मेरो प्रिय बन्न सकेन
जसरी म जन्मेको वर्ष
वर्षातले मेरो सर्वस्व लग्यो
मेरो जीन्दगीको पछ्यौरीमा
खुशी, हाँसो अनि सुःखको घाम
कहिल्यै उदाएन
मेरो आस्थाको मझेरीमा
कलिले किला ठोक्यो
हरेक रात निद्रामा
ऐठन बनेर महिषासुर आयो
नयाँ वर्ष केवल
यिनैको संगम लिएर उदायो l
जब खुशीको पखेरामा डढेलो लाग्यो
मनको मुस्कान त्यही क्षण हरायो
एकपल मलाई नदिई
मेरो विश्वासको झुप्रोमा
सलाईको काँटी बल्यो
मेरो कविताको अक्षरमा
मसीको बोतल ढल्यो
जसरी समयको ओठबाट
जीवन मुस्कुराउनु पर्दथ्यो
ठीक विपरीत दिशामा
समयले उल्टो वेग हान्यो
हो, हरेक नयाँ वर्ष
यसरी नै बेइमान भएर बग्यो l
देखिन्छन् तीखातीखा वाणहरु
प्रेम नामका हरेक शब्दमा
मीठो भनिएका हरेक वचन सुन्दा
तर्सिएका छन् यी कानका प्वाल
घृणितहरुको सामन्ती सत्तामा
प्रताडित बनेकोछ प्रेम पल-पल
सभ्यता र संस्कारको आँखाबाट
एक अभागी आत्मा
इतिहासको पन्नामा
छिया परेको मुटु निरिह बाँचेको छ l
एक अज्ञात जत्था
मुठ्ठी बटारेर
अग्रगामी छलाङ् मार्न अभ्यस्त छ
मुटुको बेदनालाई
झन् आँशुको दहमा डुबाएर
धर्ती र आकाशको बेमेल मिलन गराउन
आश्वासनको फेहरिस्त पस्किन्छ
दिउँसै रात पार्ने नियतिको चंगुलमा
म उज्यालोको अपेक्षाकृत आँखा
बाटोभरी ओछ्याउन तल्लिन छु
हो, यहाँ हरेक नयाँ वर्ष
यस्तै-यस्तै आयाम लिएर आउँछ l
अध्यक्ष–अनेसास, केन्द्रीय समिति ।
प्रतिक्रिया दिनुहोस्