५ बैशाख २०८२, शुक्रबार

मुलुकको समग्र संरचनामा हेरफेर गर्नुपर्ने पूर्वराजा ज्ञानेन्द्रको प्रस्ताव

कोलोराडोखबर संवाददाता , April 14th, 2025

नेपाल । पूर्वराजा ज्ञानेन्द्र शाहले जनभावना अनुसार मुलुकको समग्र संरचनामा हेरफेर गर्नुपर्ने प्रस्ताव गरेका छन् । आइतबार नयाँ वर्षको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले यस्तो प्रस्ताव गरेका हुन् ।

करिब १४ मिनेट लामो शुभकामना सन्देशमा शाहले वर्तमान दुरावस्थाको चित्रण गर्दै आफ्नो राजनीतिक र आर्थिक मार्गचित्र पेश गर्ने प्रयास गरेका छन् । नेपाली जनतामा देशको भविष्यलाई लिएर पैदा भएको जागरुकतालाई आफूले सकारात्मक रुपमा लिएको उनको भनाइ छ ।

‘देशलाई विद्यमान जटिलताबाट मुक्त गराइ शान्त, स्थिर र समृद्ध मुलुक बनाउने जागरुकता जुन पैदा भएको छ, नयाँ वर्षमा नेपाली जनताको चाहना अनुसारको परिणाम हासिल हुने विश्वास थपिएको छ,’ भिडिओ सन्देशमा पूर्वराजाले भनेका छन् ।

मुलुकका व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट मुक्त गर्न नेपालको राजसंस्थाले जहिले पनि योगदान पुर्याउँदै आएको उनले बताएका छन् ।

पूर्वराजाले राष्ट्रनिर्माता बडामहाराजधिराज पृथ्वीनारायण शाहको दिव्य उपदेशलाई नै अबको राज्यसत्ताको मुल मन्त्र बनाउनुपर्ने प्रस्ताव समेत गरेका छन् । सन्तुलित कुटनीतिक सम्वन्ध र आत्मनिर्भर नेपालको परिकल्पना नै पृथ्वीपथको मुल सार हो भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्