२५ चैत्र २०८१, सोमबार

पूर्वराजाको नाम लिएर अरूले फाइदा उठाउन खोजेः माधव नेपाल

कोलोराडोखबर संवाददाता , April 7th, 2025

नेपाल । नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला र आफूले गणतन्त्र ल्याउने सहमति गरिसकेपछि मात्रै माओवादीले जनयुद्ध छोडेर आएको दाबी गर्नुभएको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित पार्टी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) बागमती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त दाबी गर्नुभएको हो ।

उहाँले माओवादी जनयुद्धबाट तीन नेताले बसेर सहमति गरिसकेपछि मात्रै मिसिएको बताउनु भयो । कोइराला र आफूले नै सबै सहमति गरेको र तत्कालीन राजा ज्ञानेन्द्रले सबै अधिकार जनतालाई त्यही बेलामा सुम्पिएको बताउनुभयो । उहाँले पछिल्ला घटनाक्रमहरूप्रति लक्षित गर्दै अध्यक्ष नेपालले पूर्वराजा शाहका सचिवले अहिले राजा फर्काउने कुरा नभएको र राजाको इच्छा पनि नरहेको कुरा आफूलाई भनेको बताउनु भयो ।

पूर्वराजाले इच्छा नगरेको कुरापछि बाहिर हल्ला मात्रै रहेको र त्यसले मन शान्त भएको उहाँको भनाइ छ । पूर्वराजाको नाम लिएर अरूले फाइदा उठाउन खोजेको भन्दै राजनीति गर्ने भए पार्टी खोलेर चुनावमा आउन पूर्वराजालाई चुनौती दिनुभयो । अध्यक्ष नेपालले राजावादीहरूले मच्चाइरहेको हल्लामा कुनै सत्यता नरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्