अमेरिका । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले एनआरएनए अभियानलाई राजनीतिक मुद्दा नबनाउन आग्रह गर्नुभएको छ ।
थाइल्याण्डको बैंककमा शनिबारबाट (मार्च १५-२०२५) सुरु दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनमा सम्बोधन गर्दै गैरआवासीय नेपाली संघ एउटा संस्था मात्रै नभई विदेशमा रहेका ८० लाख नेपालीको साझा चौतारी एवं विश्वभरका नेपालीलाई एकबद्ध गर्ने पवित्र अभियान भएको भन्दै अध्यक्ष डा केसीले यस संघलाई राजनीतिकरण नगरिदिन आग्रह गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “नेपालमा जुनसुकै राजनीतिक पार्टी सरकारमा भएपनि हामीलाई कुनै फरक पर्दैन, किनकी सन् २००१ मा जब एनआरएनएको परिकल्पना भएको थियो, तत् समय विदेशमा रहेका कयौँ हामीहरु राजसंस्थाको विरोधमा थियौँ तर हामीले नेपालको प्रमुख ओहोदामा भएको राजालाई हाम्रो प्रमुख अतिथि बनाएर कार्यक्रम सञ्चालन गरेका थियौँ भन्नुको अर्थ हामीलाई सरकारमा को छ, कुन पार्टी छ भन्ने कुराले प्रभाव पार्दैन किनकी यो राजनीतिक संस्था होइन विशुद्ध सामाजिक संस्था हो र विदेशमा रहेका ८० लाख नेपालीको आस्थाको विश्वासको, इमानदारिताको संस्था हो ।”
उक्त अवसरमा सरकारले गैरआवासीय नेपाली नागरिकता दिएपनि पूर्ण कार्यान्वयन नहुँदा नेपालमा लगानी लैजान आफूहरुलाई कठिन भइरहेको भन्दै अध्यक्ष डा केसीले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
विदेशमा रहेका नेपालीहरु विभिन्न क्षेत्रमा सफल भइरहँदा मुलुक पनि सफल भइरहेको उहाँको भनाई थियो । “एउटा व्यक्तिको सफलताले देशलाई पनि सफल बनाउन सके मात्रै त्यो वास्तविक सफलता हुन्छ अन्यथा त्यसको कुनै अर्थ रहँदैन । उहाँले भन्नुभयो, “सन् २००३ मा मुश्किलले ५ लाख नेपाली बाहिर थिए होला आज त्यो संख्या ८० लाख पुगिसकेको छ । धेरै परिवर्तनले बनेको हो एनआरएनए अभियान । यहाँ व्यक्तिको मात्रै सफलता गौण छ, व्यक्तिको सफलताको मुलुकलाई पनि सफल बनाउन सक्नुपर्छ ।”
फरक प्रसंगमा अध्यक्ष डा केसीले आगामी अक्टोबरमै १२ औँ महाधिवेशन तथा विश्व सम्मेलन हुने भएकोले मे महिनामा महाधिवेशन गर्ने भन्दै तयारी गरिरहेको पूर्व अध्यक्ष शेष घले नेतृत्वको समितिलाई प्राविधिक रुपमा पनि मे महिनामा महाधिवेशन गर्न नमिल्ने र ९० वटै एनसीसीको कार्यतालिका प्रभावित हुने भएकोले अक्टोबरमै महाधिवेशनका लागि हातेमालो गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ’एनसीसी हाम्रा पिल्लर हुन्, उनीहरुलाई अप्ठेरोमा पार्ने काम हामीबाट हुनु हुन्न ।ʼ
कार्यक्रममा पाल्पास्थित दमकडा नमुना माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत ओजस्वी आचार्यलाई एनआरएनए ब्राण्ड एम्बास्टर घोषणा गरिएको छ ।
यसैबीच, एनआरएनएको प्रस्तावमा दुई जना नेपालीलाई निशुल्क एमबीबीएस अध्ययनको अवसर प्रदान गरिने भएको छ । थाइल्याण्डमा जारी गैरआवासीय नेपाली संघको दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पीएनओज् सम्मेलनका अवसरमा एसियन इन्टरनेशनल युर्निभर्सिटीमा एमबीबीएस अध्ययनको लागि दुई जना नेपालीलाई अवसर प्रदान गर्ने सम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
सम्मेलनमा सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, पूर्वमन्त्री र सांसद पदम गिरी, सांसद माधव सापकोटा, थाईल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओली, गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी, उपाध्यक्षहरू डा. हेमराज शर्मा, रामशरण सिमखडा, महिला उपाध्यक्ष रोजिना प्रधान राई लगायत संघको पदाधिकारी टोलीको सहभागिता छ ।
प्रतिक्रिया दिनुहोस्