-सुदीपभद्र खनाल-
सहीद देशकालागि हाँसीहाँसी मरे तर
बुझेनन् लाग्छ बाँच्नेले त्यो उद्देश्य रतीभर
कस्ता अब्बल निक्लेछन् हाम्रा नेतृत्व पुङ्गव
म आफ्नै घरमा पस्न भिसा चाहिन्छ रे अब !
बनाए राष्ट्र पूर्खाले सन्तती निम्ति भोलिका
सत्य प्रल्हाद डड्दैनन् डड्दछिन् कूट होलिका
पिताका काखमा बस्न भन्छन् पाउन्न बालक
म आफ्नै घरमा पस्न भिसा चाहिन्छ रे अब !
दौडनु जीविका निम्ति जीवको कर्म हो तर
स्थानमा फर्कने उस्को अधिकार छ हैन र
फर्केर गुणमा पस्न चरा पाउन्न रे अब
म आफ्नै घरमा पस्न भिसा चाहिन्छ रे अब !
गरेर कर्मको खेती कर्मी नफर्किए घर
सोचौँ त कसरी होला हाम्रो समाज सुन्दर
रोकेर प्रेमको भाव सृष्टि हुन्छ र सौष्ठव
म आफ्नै घरमा पस्न भिसा चाहिन्छ रे अब !
उल्टो प्रकृतिको हिँड्ने टिकेको छ र को कहाँ
द्वेष कुण्ठा घृणा रोपी फुल्यो खै सभ्यता कहाँ
आमाको काखमा जान रोक्न हुन्छ र बालक
म आफ्नै घरमा पस्न भिसा चाहिन्छ रे अब !
-अमेरिका ।
प्रतिक्रिया दिनुहोस्