८ बैशाख २०८२, सोमबार

निर्देशक तुलसी घिमिरेको निर्देशनमा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरु

कोलोराडोखबर संवाददाता , February 27th, 2025

नेपाल । निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ को छायाङ्कन सुरु गरेका छन् ।

हालै गोरखा दरबारमा पूजा गरेपछि अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र नवअभिनेत्री पञ्चमी घिमिरेको दृश्यलाई खिच्दै छायाङ्कन सुरु गरिएको हो ।

निर्देशक घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक तथा आर्थिक समस्याको कथावस्तु रहेको चलचित्रको छायाङ्कन गोरखा आसपासमा २५ दिनसम्म हुने बताए ।

यस चलचित्रबाट निर्देशक घिमिरेको छोरी पञ्चमी घिमिरेले अभिनयको सुरुवात गरेकी छिन् । चलचित्र कर्ममा छोरीको आगमनले आफूलाई खुसी लागेको निर्देशक घिमिरेले बताए ।

यस चलचित्रमा नागरिकको दायित्व र देशको आवश्यकतालाई चित्रण गरिएको छ । ओजस्वी केसी निर्माता रहेको सो चलचित्रलाई प्रमोद प्रधानले छायाङ्कन गरिरहेका छन् । चलचित्रमा विपिन कार्की, सुनिल थापालगायतका कलाकारको अभिनय रहने छ । यसमा रञ्जित गजमेरले सङ्गीत सिर्जना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्