–चिरञ्जीवी लामिछाने–
म प्रकृति
छाती चौडा गरेर भन्न सक्तछु
मलाई गर्व छ मेरो आफ्नै अनगिन्ती रङ्गहरूमा
मैले हिसाबै गर्न नसक्ने स्रोतहरूमारसम्पदाहरूमा
असङ्ख्य सन्तानहरूकी साझा जननी हुनुमा ।
तर मेरा सबै सन्तानहरूमा
मलाई उत्तिकै गर्व भने पक्कै छैन
मान्छे नामको एउटा सन्तान छ
मेरो ठूलो गुनासो छ भने उसैमा हो
अनि केही आस गर्न लायक
कोही छ भने पनि उही हो ।
म प्रकृति ।
म प्रकृति
त्यही दिनबाट आजित हुन थालेको हुँ
जब मेरै ऊर्जा लिईलिई विस्तार गरेको बुद्धिले
स्वार्थको नापो लगाईलगाई तोक्न थाल्यो
मेरा अङ्ग अङ्गको मूल्य
मान्छे नामको मेरै सन्तानले ।
अहिले त सोच्दैछु,
एउटै सन्तान काफी रहेछ
आमालाई पीडा दिनु र खुसी दिनुमा ।
म प्रकृति ।
डोजरे विकासको नङ्ग्राले
कोपरेका डामहरू आलै छन् ।
कलेटी परेका छन् ओठहरू
प्रदुषणका पत्रैपत्रले
निस्सासिइरहन्छु छिनछिनमै
हानिकारक ग्यासहरूले
कहिले थाम्नै नसक्ने गरी बग्दछ आँसु
आँखा पोलेको पोल्यै भएर
कहिले तातेर रहनै पाउँदैन आँखामा आँसु
तब त आँसु खसाल्न पनि
मेरो खुसीले पाएको छैन आजभोलि ।
यस्तै हो भने मैले
मैले कसरी आफूलाई हेर्न सक्छु ऐनामारु
म प्रकृति ।
म प्रकृति,
काम लाग्ने हदैसम्मका कुराहरू
मबाटै खोसिएका छन्
उनीहरुलाई काम नलाग्ने जति
फेरि मतिरै थोपरिएका छन्
ए मेरो प्रिय सन्तान
बसेर आमाकै काखमा
कसले सिकायो कोपर्नलाई
आफ्नै आमाकै छातीरु
पिएर आमाको दुग्धधारा
किन सरम मान्दैनौ
मलमूत्र छाड्न
आमाकै काखमा जानीजानी ?
म प्रकृति ।
म प्रकृति,
मुडुलो मुडुलो बनाईँदै गर्दा
तालु मेरो मात्रै तात्ने पक्कै पनि होइन होला
भलै वातानुकूलित महलमा
कथित सुखमा भुलिरहून्
मेरा केही थान मानवरूपी सन्तानहरू ।
समृद्धिको पहाड चढ्दै गर्दा
ढाड मेरो मात्र खुइलिएको हो या
भविष्य आफ्नो पनि त्यस्तै बन्दै गएको हो ?
मलाई खोक्रो पार्दै पार्दै धोक्रो भर्नेहरूले
म बाट भागेर जाने ठाउँ छैन भन्ने बुझ्छन् कि बुझ्दैनन्
म प्रकृति ।
मान्छेहरु हो,
आफ्नै हितलाई ध्यानमा राख्छौ भने
आफूलाई दलदलमा जानबाट रोक्छौ भने
एउटा प्रश्नको जवाफ दिनैपर्छ तिमीहरूले
तिमीहरुले खोजेको उन्नति कस्तो हो ?
मलाई छुटाएर ल्याएको विकास
कतिन्जेल टिक्छ ?
मलाई कुल्चिएर ल्याएको समृद्धिले
अन्तिममा गएर के दिन्छ ?
– बकैया–५, मकवानपुर
हालः हेटौँडा
प्रतिक्रिया दिनुहोस्