७ बैशाख २०८२, आईतवार

के छैन नेपालमा ?

कोलोराडोखबर संवाददाता , February 17th, 2025

–धनराज गिरी–
मान्छे बौद्धिक शब्दजाल रसिला आचार्य धेरै कडा
हेर्दा शीतल साधुको प्रचुरता आफन्त मेरै खडा !
बोल्दामा मह झर्छ हेर घिउको बर्षा हुने तालमा !
वार्ताकार बढी पढी दशगुना के छैन नेपालमा !

धेरै गालिब मीर धीर कविजी पौडेल बाजेहरू !
मोतीराम अनेक टोल भरि नै साहित्य जान्ने अरू !
खोज्दा चेखव भेटिने डगरमा नामी रुसो घोलमा
नेपाली जनता बने गजलमा उस्ताद भूगोलमा !

हाम्रो काम भयो सुपुत्र दुहिता जापान घोक्र्याउने !
मान्छे खास निकास आस अहिले नेपाल बोक्र्याउने !
रित्तो गाउँ बनाउने रहर हो उद्योग बेहालमा !
नेताजी वरदान शान चुलिए ‘के छैन नेपालमा !’ ?

धेरै रावणको कथा उपकथा भन्ने भए रामले
सीताराम पसे उही विपिनमा देख्ने शशी घामले
फेवामा मीन छैन दीन टुहुरो दुर्भिक्षको तालमा !
सेतीको अवसाद गन्छ कविले के छैन नेपालमा !

खोजे मानवता अभावपुरमा दम्भीहरू पाइने
रोजे खास विवेक धर्म गरिमा धोका बढी खाइने
मान्छे छैन अरे गयो मनुजता संस्कार पातालमा !
सारा छन् महचोक छैन गुरुजी ‘यो छैन नेपालमा !’

-चितवन, नेपाल ।

प्रतिक्रिया दिनुहोस्