७ बैशाख २०८२, आईतवार

कविताः हाम्रो स्कूलको कथा

कोलोराडोखबर संवाददाता , February 15th, 2025

–आर.आर. चौलागाईं–
तिमी जेसुकै भन
जति ढाकछोप गर
जति ढाँट
तर मचाहिँ साँचो बोलिरहेको छु
अब त हाम्रो स्कूल भत्किसकेको छ ।

छट्टू मान्छेहरूले स्कूललाई बेचे
स्कूलमा आगो लगाए
स्कूलबाट लेटरप्याड चोरेर
आफूखुसी नक्कली प्रमाणपत्र बनाए
हामी लाटा थियौँ
सोझा थियौँ
आफ्नो कर्म बाहेक अरू केही गर्न नजान्ने गोज्याङ्ग्रा थियौँ
त्यसैले छट्टू काम गर्न सकेनौँ
असफल भयौँ
अरूले जस्तो स्कूलको नामबाट आफ्नो खल्ती भर्न सकेनौँ
अरूले जस्तो छट्टू मान्छेहरूको स्तुति गाएर
आफ्नो सात पुस्तालाई उतार्न सकेनौँ
अरूले जस्तो रातो इनामेल लगाएर
आफूले गरेका पापहरू छोप्न सकेनौँ
अहिले धेरै कुरा गरेर के फाइदा !
अब त हाम्रो स्कूल भत्किसकेको छ ।

स्कूलको बाहिरपट्टि ठड्याएको साइनबोर्ड
झकमक्क भएर के गर्नु !
स्कूलको बारेमा छापिएको किताबको गाता
मोटो र चिल्लो भएर के गर्नु !
स्कूल नै नभएपछि साइनबोर्डको के काम !
भित्र पढ्ने कुरा नै नभएपछि
गातामात्रै भएको किताबको के काम !
यतिबेला दुस्खका साथ भन्नु परेको छ मलाई
अब त हाम्रो स्कूल भत्किसकेको छ
अब त हाम्रो स्कूल रसातलमा पुगिसकेको छ ।

–हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्