२८ फाल्गुन २०८१, बुधबार

कोलोराडोको बोल्डरमा अगस्ट ९ तारिखमा आठौं ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रमको घोषणा

कोलोराडोखबर संवाददाता , February 10th, 2025

–मीन बोलखे (नेपाल) । आगामी अगस्ट ९ तारिखका दिन अमेरिकाको कोलोराडोस्थित बोल्डरमा ८औं ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५’ हुने भएको छ । आइतबार नेपालको राजधानी काठमाडौंमा आयोजित विशेष समारोहका बीच ग्लोबल नेपाली फिल्म अवार्डको आठौं संस्करणको मिति घोषणा गरिएको हो ।

नेपाल सरकार बागमती प्रदेशका मन्त्री मधुकुमार श्रेष्ठ र नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको विशेष उपस्थितिमा गत सेप्टेम्बर १५ मा न्यूयोर्कमा सम्पन्न सातौं संस्ककरणको औपचारिक समापन र आठौं संस्करणको मिति घोषणा गरिएको हो ।

ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएका अध्यक्ष नायक नवराज श्रेष्ठले उपस्थित सम्पूर्णलाई स्वागत गर्दै ८औं ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५’ कार्यक्रमको घोषणा गरेका हुन् ।

उक्त कार्यक्रम नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष कृष्ण मल्लको सभापतित्वमा भएको थियो । ‘नेपाली फिल्म भिलेज टु ग्लोब’ भन्ने नारासहित आयोजना हुन लागेको ८औं ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५’ फिल्मकर्मीलाई सम्मान, पुरस्कार र प्रोत्साहन गर्ने हेतुले विगतदेखिनै आयोजना हुँदै आएको कार्यक्रमको निरन्तरता भएको नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष मल्लले बताउनु भयो । संसारभर छरिएर बसेका नेपाली चलचित्रकर्मी तथा कलाकारहरूलाई एउटै स्थानमा जमघट गराएर नेपाली मौलिक कला, संस्कृतिलाई संसारभर परिचित गराउने उद्देश्य अवार्डको रहेको उहाँले बताउनु भयो ।

नेपाल फिल्म सोसाइटी नेपाल, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए र हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशनको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो । नेपाल फिल्म सोसाइटीका अध्यक्षमा वरिष्ठ नायक कृष्ण मल्ल रहेका छन् भने ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएको अध्यक्षमा नायक नवराज श्रेष्ठ रहेका छन् ।

हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशनका अध्यक्ष नारायण श्रेष्ठले नेपाली चलचित्रको विकास र प्रोत्साहनका लागि यो कार्यक्रम भव्यताका साथ सम्पन्न गरिने बताउनु भयो ।

आठौं संस्करणको अवार्ड घोषणा कार्यक्रममा आयोजक संस्थाका पदाधिकारीसहित वरिष्ठ कलाकार र गन्यमान्य व्यक्तित्वहरु हरिहर शर्मा, शम्भुजीत बास्कोटा, शोभित उप्रेती, जानकी पन्त, निरज शर्मा, मोहन निरौला, जगदीप पराजुली, बसन्त श्रेष्ठ, भुवन चन्द, बसुन्धरा भुसाल, डा. राजेन्द्र केसी, तीर्थ थापा, दिपेन्द्र गौचन, मदनदाश श्रेष्ठ, राधेश्याम लेकाली, सुनिल थापा, गौरीशंकर ध्वजू, राजेन्द्र खड्गी, प्रदीप उदय, प्रशान्त ताम्राकार, डा. भीमार्जुन आचार्य, अशोक शर्मा लगायतको उपस्थिति थियो ।

‘आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचानः गाउँदेखि विश्वबजारसम्म’को नारा लिएर ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ चलचित्रकर्मीको प्रोत्साहन र सम्मानको लागि सन् २०१६ देखि नियमित आयोजना हुँदै आएको छ । अवार्डका अघिल्ला ७ संस्करणहरू कोलोराडो, सनफ्रान्सिस्को र न्यूयोर्क शहरमा सफलतापूर्वक सम्पन्न भएका थिए ।

न्यूयोर्कमा ग्लोबल नेपाली फिल्म अवार्ड भव्यताका साथ सम्पन्न (फोटो फिचरसहित)

नेपाल चलचित्र विकास बोर्डमा आयोजित आठौं संस्करण घोषणा कार्यक्रमको झलक:

 

प्रतिक्रिया दिनुहोस्