नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ को आम निर्वाचन पार्टीको नयाँ नेतृत्वको अगुवाइमा गर्ने बताएका छन् । पार्टीको काठमाडौँ महानगरपालिका वडा नम्बर ७ को शनिबार आयोजित सम्मेलनमा बोल्दै ०८४ को आम निर्वाचन कांग्रेसको नयाँ नेतृत्वको अगुवाइमा हुने दाबी गरेका हुन् ।
पार्टीका केही अग्रज नेताहरूले ०८४ को आमचुनावपछि महाधिवेशन गरे पनि हुने बताएको सन्दर्भमा महामन्त्री थापाले महाधिवेशनबाट आएको नेतृत्वको अगुवाइमा पार्टी ०८४ को चुनावमा जाने स्पष्ट पारेका हुन् ।
कांग्रेसको १४औँ महाधिवेशन ०७८ मंसिरमा काठमाडौँमा भएको थियो । सो अनुसार नियमित महाधिवेशन ०८२ मंसिरभित्र हुनुपर्नेछ । तर विधानले नै विशेष परिस्थिति भन्दै एक वर्ष थप्ने सुविधा सभापतिलाई दिएको छ । सो सुविधालाईसमेत लत्याउने गरी अग्रज नेताहरुले भ्रम छर्दै हिँडेपछि महामन्त्री थापाले स्पष्ट पारेका हुन् ।
समयमै महाधिवेशन गर्नका लागि कांग्रेस आजैदेखि तात्नुपर्नेछ । सो अनुसार आफूलाई अभ्यस्त पार्दै गएका महामन्त्री थापाले चैतभित्र क्रियाशील सदस्यता नवीकरण गरिसक्ने र त्यसपछि नयाँ क्रियाशील बाँड्ने तयारी गरेकोसमेत बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्