–रमेशचन्द्र घिमिरे–
दुई एकान दुई हो दुई दुना चार
दुनोट कण्ठै पारिन्थ्यो हुन्थ्यो मुखाखार
त्यो बेलामा क्याल्कुलेटर किन्न पाइएन
किन्दिनू न बा भनेर घुर्की लाइएन
चिच्याई चिच्याई भनिन्थ्यो ‘दुई तियाँ छ’
खुसी भई सर भन्नुहुन्थ्यो ‘ठीक छ बाबु ल’
मुखले हिसाब गरिन्थ्यो स्याबास पाइन्थ्यो
जोड, घटाउ, भागर सबै मिलाइन्थ्यो
भाका मिलाई कराइन्थ्यो ‘दुई चौका आठ’
गुरुमाले फकाउनुहुन्थ्यो ‘पढ अझै पाठ’
अचेल मेरो भाइलाई जोड्न आउन्न रे !
गुरुसँग नसोधी थाहा पाउन्न रे !
कति भनेँ घोक बाबु ‘दुई पन्चे दस’
मैले यति भनेपछि बल्ल भन्यो ‘हस्’
दुई छका बाह्र हो दुई साते चौध
दुई आठा सोह्र हो सुनाऊ बाबु लौ त
मेरै सिको गरी भाइले गन्न थाल्या छ
दुई नवाँ अठार हो भन्न थाल्या छ
‘आफै हिसाब गर्नुपर्छ सार्नु हुँदैन
जानिन्न कि भनी हिम्मत हार्नु हुदैन
पढ्दापढ्दै जानिने हो दुई दसान् बीस’
यसो भन्नुहुन्छ सधैं सर म्याडम र मिस !
–भोर्लेटार, लमजुङ ।
प्रतिक्रिया दिनुहोस्