६ बैशाख २०८२, शनिबार

त्रिकोणात्मक टी ट्वान्टी सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित

कोलोराडोखबर संवाददाता , January 31st, 2025

नेपाल । बिहीबारको त्रिकोणात्मक टी ट्वान्टी सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान भएको खेलमा नेपाल नेदरल्याण्डसँग २० रनले पराजित भएको हो । नेदरल्याण्ड्सले जितका लागि दिएको एक सय ५८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३७ रनमा समेटिएको हो ।

नेपालका लागि सीता रानामगरले सर्वाधिक २८ रनको योगदान दिइन् । उनले ४५ बलमा तीन चौकाको सहयोगमा २८ रन बनाएकी हुन् । त्यसैगरी कविता जोशीले १७ बलमा एक चौका र दुई छक्काको सहयोगमा २७ रन बनाइन् । पुजा महतोले १४ बलमा दुई चौका र दुई छक्काको सहयोगमा २४ रन बनाइन् । त्यसबाहेक अन्य नेपाली खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । सम्झना खड्काले ९ रन बनाइन् भने कविता कुवँरले ८ तथा कप्तान इन्दु बर्माले ७ रन जोडिन् ।

अब नेपाली महिला टोलीले शनिबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्