-धनराज गिरी-
“बा, हजुर त अर्थशास्त्रको पनि विद्यार्थी, यत्रो चिन्तन मनन पनि गर्नूृहुन्छ । हाम्रो राष्ट्रय समस्या के हो ?” सुपुत्र आरजू गिरीको प्रश्न, मेरो उत्तर, “धनराज गिरी” छोराको प्रतिक्रिया, “म यति गंभीर कुरा गरिरहेकोछु, हजुर खाली मजाक गर्नुहुन्छ, बालक नै रहनुभयो जीवनभरि ।” “छोरा, हरेक भित्री गंभीर मान्छेले मजाकमा नै गंभीर कुरा गरेको हुन्छ, ऊ अभिधामा बोल्दैन, लक्षणा र व्यन्जनामा बोल्दछ ।
अब बाको व्याख्यात्मक टिप्पणी सुन्, अनि मात्र प्रतिक्रिया दिनू, तेरो चित्त बुझाउन नसके फेसबुक नै चलाउन्न । यो छ अक्षर “धनराज गिरी” म, प्रोफेसर जगमोहन आजादको आधिकारिक नाम “धनराज गिरी” होइन । यो देशमा, अपवादलाई छोडेर, “धनमा राज गर्नेहरु अति नै गिरेका हुनाले देशको हालत यस्तो भएको हो । हामी यति सोझा र इमान्दार आफ्नै पसिनाको कमाइमा गुजारा गर्ने बाउ छोरालाई यसरी ठग्यो एउटाकुरुप ठगलालले भने अन्त, अन्त, सीधासाधा नेपाली नागरिकहरु के के नाममा कति ठगिएका होलान् ? अनुमान गर्दा नै आङ सिरिङि सिरिङ हुन्छ ।
अनि भएन त छोरा “धनराज गिरी” राष्ट्रिय समस्या ? भएन त ?” उज्यालो अनुहार बनायो मेरो भाग्य, हाम्रो भाग्य, “लक्ष्मीकान्त” विवेकीले, “कता ताकेर कता ठोक्नुहुन्छ, कसरी मेसो पाउनु, फेरि पढ्नुपर्छ हजुरसित अर्थशास्त्र र जीवन गणित, कपिल कमेडी पनि मात खान्छ, अब आफूसहित सम्पूर्ण “धनराज” हरुलाई “मनराज” बनाउने उद्योगमा लाग्नुहोस्, हजुरको सम्मोहन शक्ति खतरा छ । हुन्छ बा, म काममा जान्छु ।” यो भयो मजाक, के यो मजाक हो ? यहाँहरुलाई मजाकजस्तै लाग्यो ? हाम्रो राष्ट्रिय समस्या के हो ? हाम्रो राष्ट्रिय समस्या हाम्रै आचरण हो । “धनराजहरु” अति लोभी भएर हो ।
“धनराजहरु” गलत मार्गबाट “गिरेर” अति तल झरेर, पतीत भएर, दौलतपुरसम्म पुग्ने चोर बाटो खन्ने भएर हो । पदमा जाने, जसरी पनि पदमा जाने, शक्ति हातमा आएपछि जसरी पनि कुम्ल्याउने, पदमा रहिरहनका लागि जे पनि गर्ने । यही हो हाम्रा राष्ट्रिय चरित्र । २०८० सालसम्म आए पनि हामी २००७ सालमा नै छौं । दास प्रथा उन्मूलन भएकै छैन । दासहरु सधैं उदास हुन्छन् । बिन्दास हुन सक्दैनन् । म यहाँ समस्याहरु मात्र लिएर आएको छैन । समस्या छ । समस्याको उत्पादक हामी आफैं हौं । उत्पादक नै उपभोक्ता बन्ने हो । हे उत्तर आधुनिक “धनराज गिरीहरु” यति धेरै गिर्न भएन, ज्यूँदै नरक छिर्न भएन । एउटा पुस्ताले पाप गरेर, शोषण गरेर दौलतमन्द भयो भने त्यसको असर एउटा न एउटा पुस्तामा पर्दछ । गरीबहरुको आँसु लाग्छ । सराप लाग्छ ।
राष्ट्रिय रुपमा बदनाम भएका “ठगलालहरु” ठूला ठूला ठेकेदारहरु, हाकिमहरु, नेताहरु, प्रधानमन्त्रीहरु, सचिवहरु, अरु अरु, प्राडाहरु पनि, माफियाहरु, तिमीहरु मात्र धनी हुने, “धनराज गिरी” बन्ने, मेरो नामलाई बदनाम गर्ने हो भने, लय भत्काउने हो भने समाजमा प्रलय आउने छ । “आमा, त्यो आउँछ ?” पक्कै आउने छ । यी प्रचण्ड र बाबुरामहरु निकम्मा भए पनि नयाँ नयाँ प्रचण्डहरु, बाबुराम जन्मिनेछन्, समयले जन्माउनेछ । पानीले आफ्नो सतह आफैं मिलाउने छ । “कडा परिश्रम गरिएछ, प्रोफेसर जगमोहन आजादज्यू” भन्नुहुनेछ मेरा आदर्श राघवले । “हे राम, म पनि सीतापति, आखिर अलि अलि जिम्मेवारी मेरो काँधमा पनि छ । म पनि त आदरणीय केशवप्रसाद भट्टराई गुरुदेव र आदरणीय नीलाम्बर आचार्य गुरुदेवकै एकलव्य हुँ । राष्ट्रिय चिन्तन गर्न पाउन्न र ? के गरेमा राम्रो हुन्छ ? राम्रो गरेमा राम्रो हुन्छ । समाधानहरु, एक, बाटो, बाटो, बाटो । दुनियाँले बनाए, छिमेकी देश भारत र चीनकै जत्तिकै बाटो बनाउन सकिन्न ? जहाँ जहाँ बाटो पुग्छ, त्यहाँ त्यहाँ विकाश पुग्छ । राम्रो पनि भएको छ । पढाइ, पढाइ, पढाइ । सम्पूर्ण शिक्षण संस्थाहरुलाई राजनीतिमुक्त गराउने । कडा अनुगमन गरेर पढाउन लगाउने । अशिक्षकहरुले खाए शिक्षा ।
गोर्खेलौरी लगाएर गुरुपदको गरिमा कायम गर्न झोलेहरुलाई सरस्वतीको मन्दिरबाट मर्यादित बहिर्गमनको व्यवस्था गर्नैपर्दछ । भन्न र लेख्न सजिलो हुन्छ, टार्न र पु¥याउन गाह्रो हुन्छ, राज्य व्यवस्थाको सामथ्र्यभित्र पर्छ भने संपूर्ण शिक्षा निशुल्क गराइनुपर्दछ । अंग्रेजी पसलहरु भोलि “कोरोना” बन्ने संभावना छ । शिक्षामा विभेद सामाजिक अपराध हो । जनताले सामाजिक न्याय पाउनैपर्दछ । राम्रोसित पढेको योग्य पात्रले एउटा परिवार नामको गाडी मज्जाले हाँक्द्छ । अनुभूत तथ्य । हरेक नागरिक व्यवस्थित भए, हरेक घर व्यवस्थित भए देश आफैं व्यवस्थित हुन्छ । खत्तम भएको नेपाल होइन, देश होइन, देश कहिल्यै खत्तम हुन्न । खतम भएको नेपालीको मानसिकता हो । संस्कार खत्तम छ । पुर्खाहरुले विरासतमा छोडेका धेरै कुराहरु बदल्नुछ । फजुल खर्चका संपूर्ण रीतहरु बन्द गर्नू छ, एउटा हो बिबाह । हरे शिव, एक धुर जमिनमा खेती गर्नु छ पाँच बिगाह, बेचेर । टाट फर्किन किन हाट सजाउने ।
धेरै कुराहरु गलत छन् । चुनाव नै गलत छ । संघीयता गलत छ । गलत बाटाहरु अनन्त, हामी मूर्ख बनेका छौं । मूर्खहरुलाई मूर्ख भन्नु अर्को मूर्खता हुन्छ । जहाँ पनि छन्, “सेतोकोट भित्र” ठगलालहरु, भाइमाराहरु, शोषकहरुको अस्तित्व रहेसम्म समाजमा शान्ति कायम हुन्न । कृषि, नेपाल कृषि प्रधान देश हो, २०२० सालदेखि पढेको, कृषि क्षेत्रको अधिकतम दोहन हुनुपर्दछ हिमाल, पहाड, उपत्यका, मधेश, तराई, बिशिष्टीकृत खेतीप्रणाली, पहाडमा फलफूल, पशुपालन, जहाँ जेको संभावना छ, त्यसको समुचित विकास गरेमा खाद्यान्नमा आत्मनिर्भर हुने मात्र होइन, विदेशमा पठाउन पनि सकिन्छ । पानीको प्रयोग अधिकतम गर्नुपर्दछ । विजुली र सिँचाइ, पिउने शुद्ध पानीको वितरण, हिमालको पानी बेचेर पनि प्रशस्त डलर कमाउन सकिन्छ । “कृषि, पर्यटन र पानी” हाम्रो विकाशको आधारशिला बन्नसक्छन्, बनाउनुपर्दछ । पर्यटन उद्योगको प्रचुर संभावना छ ।
कोरोनाले जेलाई पनि तहसनहस बनायो । होटल लज मालिकहरु बैंकको दास भएका छन् । भित्र भित्र बेहाल छ । हिजोको करोडपति आज रोडपति बन्न बेर छैन । राज्य व्यवस्थाले स्वदेशी उद्यमीहरुलाई प्रोत्साहित गर्नुपर्दछ । “एनआरएनए” वरदान बन्न सक्छ, बनेको छ । उसको लागि सरकारी नीति उदार हुनुपर्यो, आकर्षित गर्ने खालको । यी सबै कुराहरुको व्यव्स्थापक राजनीति हो । राजनीति “गंगोत्री” हो । राष्ट्रिय समस्या “राजनीति” हो । चार पासे र आठपासे गफाडीहरुको चंगुलबाट राजनीतिमुक्त हुनुपर्यो । राजनीतिमा इमान्दार र योग्य मानिसहरु आउनसक्ने वातावरण बनाउनुपर्यो । धनराज गिरीहरू पवित्र ‘मनराज’ बन्नू, फेसबुक जति चलाए पनि हुन्छ ।
–चितवन, नेपाल ।
प्रतिक्रिया दिनुहोस्